राजनीति

आयोगले आचारसंहिता पूर्ण पालनाबारे दलहरु संग प्रतिबद्धता लिने

चैत्र २२, 2078    Butwal Post

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको छ । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उनले बताए । आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । 

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो । 

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरूबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top