खेलकुद

युरोकप २०२० क्वाटरफाइनलका खेल आजदेखि, कुन खेल कति बजे ?

असार १८, 2078    Butwal Post

युरोकप- २०२० मा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । शुक्रबार राति क्वाटरफाइनलका दुई खेल हुनेछन् ।

क्वाटरफाइनलको पहिलो खेल स्पेन र स्विट्जरल्याण्डबीच हुनेछ । स्पेन र स्विट्जरल्याण्डको खेल रूसको सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार ९:४५ बजे हुनेछ ।

स्पेनले सर्वाधिक तीन पटक युरोकपको उपाधि चुमेको छ । यता स्विट्जरल्याण्डले पहिलो पटक युरोकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

साविक उपविजेता फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको स्विट्जरल्याण्डले राम्रो टिमको परिचय बनाइरहेको छ ।

स्विट्जरल्याण्ड र फ्रान्सबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । पूर्ण समय र अतिरिक्त समयमा पनि गोल बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा स्विट्जरल्याण्डले ५ गोल गर्न सक्यो भने फ्रान्स अन्तिम सुटमा चुक्न पुगेको थियो ।

यता स्पेनले प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई ५-३ अन्तरले पराजित गरेको थियो । खेलको पूर्ण समय ३-३ गोलमा सकिएको थियो । अतिरिक्त ३० मिनेटको समयमा स्पेनले थप २ गोल गर्दै क्रोएसियालाई हराएको थियो ।

मुख्य दाबेदार मानिएका केही देशहरू बाहिरिएसँगै स्पेनलाई युरोकप २०२० को दाबेदारका रूपमा हेरिएको छ । त्यसैले स्पेनले अब केही प्रभावशाली खेल खेल्ने छ ।

त्योसँगै पहिलो पटक क्वाटरफाइनलमा पुगेको स्विट्जरल्याण्डले पनि आफूलाई स्थापित गर्नका लागि आक्रमक खेल्नेछ । यी दुईको खेल रोचक हुनेछ ।

यस्तै, शुक्रबार राति हुने दोस्रो खेलमा बेल्जियमले इटालीको सामना गर्नेछ । जर्मनको म्युनिखमा हुने यस खेल नेपाली समयअनुसार १२:४५ बजे सुरु हुनेछ ।

युरोकप २०२० मा यी दुई टिमले शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा आफूलाई पुर्‍याएका छन् । हार्ने टिम बाहिरिने भएकाले पनि दुवै टिम मैदानमा आक्रमक देखिनेछन् । त्यसैले पनि यो खेल रोचक हुने देखिन्छ ।

प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ अन्तरले हराउँदै इटालीले क्वाटरफाइनलमा स्थान बनाएको थियो । यसअघिका ११ खेलमा इटालीविरुद्ध कुनै टिमले गोल गर्न सकेका थिएनन् ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । बेल्जियमले पोर्चुगलविरद्ध १ गोल गरेको थियो ।

बेल्जियमको टिमलाई 'गोल्डेन जेनेरेसन' मानिएको छ । तर, यस टिमले कुनै उपाधि चुम्न सकेको छैन । यसपटक बेल्जियम युरोकप जित्ने दौडमा छ ।

इटाली र बेल्जियमले यसअघि २२ खेल खेलेका छन् । जसमा इटालीले १४ खेल जितेको छ भने बेल्जियमले चार खेलमा जित हात पारेको छ । बाँकी चार खेल बराबरीमा सकिएको छ । यसअर्थ, फिफाको शीर्ष स्थान ओगटेको बेल्जियमलाई इटाली भारी पर्न सक्छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top