राजनीति

एमाले केन्द्रीय कमिटी बैठकमा आज बस्दै, नेपाल पक्षको बैठकमा नजाने निर्णय

असार १८, 2078    Mani Bhandari

नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग वार्ता गरिएको थियो । केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी, जनसंघठनलाई २०७५ साल जेठ २ गतेभन्दा अघिबाट शुरु गर्न आग्रह गरेका थियौँ। यसप्रति हामी अझैपनि सकारात्मक छौं । तर विधानविपरित महाविधेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयका कारण पार्टी एकता हासिल गर्न अवरोध पुग्ने भएकाले भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छौँ।’

नेता नेपाल समूहले एमालेभित्र देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने समेत निर्णय गरेको छ । स्थायी कमिटीको निर्णयपछि मात्रै केन्द्रिय कमिटीको बैठक बोलाइनुपर्ने नेपाल समूहको माग छ ।

भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेर नेता नेपाल समुहका नेताहरु भने ओली समूहका नेताहरुसँग छलफलका लागि ललितपुरको समिट होटलमा पुगेका छन् ।

छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । ओली समूहबाट भने नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top