राजनीति

ओली नेतृत्वको सरकार ५ बर्ष चल्छ : महासचिव पाैडेल

मंसिर ३०, 2077    बुटवल पोस्ट

बुटवल, मंसिर ३० । नेपाल कम्युनिष्ट पार्टि नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले पांचवर्ष समय अवधीको पूर्ण कार्यकाल पुरा गर्ने दावी गरेका छन् । गृहनगर बुटवलमा कान्ति माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले ५ वर्षे कार्यकाल पुरा गर्ने मात्र नभई निर्वाचनका बेला घोषणापत्रमा गरिएका प्रतिबद्धता पुरा गर्ने दावी गरे ।

अर्थमन्त्री पौडेलले नेकपाभित्र देखापरेको अन्तरविरोधले नेकपाको एकता र सरकारको भविश्यमाथी कुनै असर नपार्ने समेत बताए । उनले नेकपामा विग्रह ल्याउने र एकतामा भांजो हालेर ठूलो भाग खाउंला भनेर सपना देख्नेहरुलाई पनि सपना नदेख्न आग्रह गरे ।

बुटवलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अर्थमन्त्री पौडेलले बुटवल प्रदेशको केन्द्र होईन देशकै केन्द्र बन्ने प्रकृयामा रहेको बताए । १० वर्ष अगाडीको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तिव्र गतिमा अगाडी बढेको उल्लेख गर्दै अबको १० वर्ष भित्रमा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, शिक्षा र पर्यटनको केन्द्र बन्ने दावी गरे । केहि व्यक्तिहरुको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब बुटवलवाशीले विग्रिएको बुटवल अनुहार हेरेर बस्न नसक्ने र सडक बिस्तारको काम अगाडी बढ्ने बताए । उनले सरकारले व्यक्तिको जग्गा अनधिकृत रुपमा कब्जा नगर्ने तर विकासनिर्माणमा अवरोध गरिए प्रकृयागत रुपमा हटाएर भएपनि विकास आयोजना अगाडी बढाउने बताए ।

अर्थमन्त्री पौडेलले बुटवलका शिक्षणसंस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकोले अब गुणस्तरिय शिक्षा र शिपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे । कान्ति माविका अध्यक्ष हेमानन्द शर्माले विद्यालयलाई लुम्बिनी प्रदेशमै प्लस टु मा विज्ञान विषयको हवको रुपमा विकास गरि खोज, अनुसन्धान र सिकाईको केन्द्र बनाउने लक्ष्य रहेको बताए । सोहि अनुरुप प्रदेश सरकार र संघिय सरकारको समपुरक बजेट अन्तर्गत १३ करोड ६५ लाख रुपैया लागतमा ४ तले ३५ कोठे विज्ञान भवन र ३/३ तले २४/२४ कोठाका दुईवटा छात्र/छात्रावास भवनको शिलान्यास गरिएको हो । शिलान्यास गरिएका भवन आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि अर्घाखांची लुम्बिनी जेभी विल्डरले ठेक्का सम्झौता गरिसकेको छ ।
२०१० सालमा ‘गणेश जनता विद्या भवन’ प्राथमिक विद्यालयको नामबाट पठनपाठन शुरु गरेको कान्ति माविमा हाल ३ हजार ७ सय ५८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top