समाज

बुटवलवासीलाई खुशीको खवर राजश्व घरबाटै बुझाउन सकिने, अर्थमन्त्री पौडेलद्धारा अनलाइन प्रविधिको उदघाटन

मंसिर ११, 2077    बुटवल पोस्ट

बुटवल, मंसिर ११ गते ।  बुटवलमा अबदेखि स्थानीय तहलाई बुझाउने राजश्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाएपछि सेवाग्रहीहरु राजश्व तिर्न कार्यालय जान नपर्ने भएको हो ।

उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् आजबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

उपमहानगरले सुरु गरेको डिजिटल प्रविधिको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभएको हो । 

शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताउनुभयो । कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलिलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने पौडेलको भनाइ थियो ।

त्यसक्रममा वहाँले डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने बताउनुभयो ।  पौडेलले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह समेत गर्नुभएको थियो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनिय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रुपमा विकास गरिएको जानकारी दिनुभएको थियो । उपनगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दै नगरवासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको उपमहानगर प्रमुख सुवेदीले बताउनुभएको थियो।

कार्यक्रम पछि अर्थमन्त्री पौडेलले बुटवल उपमहानगरपालिकाको निर्माणाधिन अवस्थामा रहेको अत्याधुनिक भवनको अवलोकन समेत गर्नुभएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top