समाज

बुटवलका तिनाउ र दानव नदिमा बन्ने भए ‘रिभर रुट’

मंसिर ११, 2077    बुटवल पोस्ट

बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण आयोजना मानिएको तिनाउ–दानव करिडोर (रिभर रुट) को एक कार्यक्रमका बिच शिलान्यास गर्नुभयो । 

तिनाउ करिडोरको बुधबार मगरघाटमा र दानव नदि कोरिडोरको नयाँगाउँको पुलको मुखमा शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले तिनाउ–दानवकोरिडोर (सडक आयोजना) रुपन्देहीको आर्थिक र पर्यटकीय विकासमा कोशेढुंगा सावित हुने बताउंदै यसका लागि वजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

अव बन्ने रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानवनदीको दुवैतर्फको किनारमा बन्ने बाइपास सडक निर्माणपछि भारतीय सिमासँग जोडिएको रुपन्देहीको मर्चवार क्षेत्र पनि बुटवलसँग जोडिने छ ।
बुटवलको तिनाउ पुलमुनिबाट सुरु भई एकतातर्फ तिलोत्तमा र अर्काेतर्फ सैनामैनानगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा÷लुम्बिनी सडकलाई जोड्ने यीदुई वैकल्पिक सडक बनाउन ४ अर्ब १३ करोड रुपैयाँलागत अनुमान गरिएको छ ।

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत बनाउने सडकको दुवै करिडोरमा एकसाथ काम सुरु गर्न चालु आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ बजेट विनियोजन समेत भइसकेको छ ।

दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ । पर्यटकीय दृष्टिले सडकको डिजाइन स्पिड प्रति घण्टा ४० किलोमिटर मात्र कायम गरिएको छ ।

डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरका अनुसार पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको दुवैतर्फ गरी साढे ८ र दानव नदीको साढे ३ किमीका लागि ठेक्का लागेको छ ।
तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ ।

रिभर रुट निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । जसमा ५० किलोमिटर सडक निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यी दुई रिभर रुट बनेपछि बुटवलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी पुग्न झण्डै १० किलोमिटर दुरी छोटो हुने छ ।  

बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिक जामको दीर्घकालीन समाधान गर्न मात्र नभई यी ‘रिभर रूट’ पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुने छ ।

यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत बढ्नेछ ।

तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्यपर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्य समेत छ ।

डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top