राजनीति

प्रदेश सार्ने प्रस्ताव बिरुद्ध सञ्जालको बिरोध प्रदर्शन

असोज १८, 2077    बुटवल पोस्ट

प्रदेश पाँचको राजधानी दाङ् राख्ने प्रदेश सरकारको प्रस्ताव बिरुद्ध आईतबार बुटवलमा उद्योगी व्यबसायीले निशेधाज्ञा तोडेर बिरोध ¥याली प्रदर्शन गरेका छन् । उद्योगी व्यबसायी तथा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध गर्ने तयारी गरेपछि सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका बिभिन्न स्थानमा निशेधाज्ञा जारी गरेको थियो ।

प्रदेशको राजधानी सार्नका लागि सरकारले षड्यन्त्र गरेको भन्दै उद्योगी व्यबसायीले त्यसको बिरोध गर्दै निशेधाज्ञा तोडेर बिरोध प्रदर्शन गरेका हुन् । बिहान बुटवलको राजमार्ग चौराहाबाट निकालिएको बिरोध ¥याली मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गरिएको थियो ।
सरकारले प्रदेश सभा रहेको क्षेत्र, मन्त्रालयहरु रहेको क्षेत्र र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो । आईतबार बिहान उद्योगी व्यबसायीहरु मन्त्रालयहरु रहेको क्षेत्रमा निशेधाज्ञा तोडेर प्रदर्शन गरेका हुन् । यद्यपी सडकमा प्रहरीको उपस्थिती भने बाक्लो थियो ।

रुपन्देही जिल्लामा रहेका व्यबसायिक संघसंस्थाहरुको संस्था (सञ्जाल) रुपन्देहीको आयोजनामा गरिएको ¥यालीमा प्रदेश राजधानी सार्न पाईँदैन, मान्यज्यूहरु खवरदार, अर्को चुनावमा भोट चाँहीदैन ?, राजधानी सार्न पाईँदैन लगायतका नारा लगाएका थिए ।
प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि प्रदेश सभा तथा सरकार सञ्चालनका लागि रुपन्देहीका संघसंस्थाहरुले आफ्ना भवन दिएर सहयोग गरेको स्मरण गराउँदै विगतलाई नभुल्न समेत चेतावनी दिएका थिए । ¥याली पछि आयोजित कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिनुभयो ।

प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा यस क्षेत्रका सामाजिक तथा व्यबसायिक संघसंस्थाले गरेको योगदानको स्मरण गर्दै उहाँले नीजि क्षेत्रको योगदानलाई नजरअन्दाज नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
प्रदेशको राजधानी स्थापना गर्दा भूगोललाई मात्रै नहेरी बहुसंख्यक जनताको हितलाई पनि ख्याल गर्न आग्रह गर्दै संयुक्त संघर्ष समितिका सहसंयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले राजधानी बाँके बर्दियाका लागि मात्रै भन्दा पनि पाल्पाको पल्लो टुप्पो र गुल्मीको छेउलाई पनि हेर्न आग्रह गर्नुभयो ।
त्यस्तैगरी पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल लगायतले रुपन्देही राजधानी बहुसंख्यक जनताको हितमा रहेको र बुटवल राजधानी हुँदा यस क्षेत्रलाई मात्रै नभएर सबैलाई पायक पनि पर्ने भएकाले बुटवलको बिकल्प नभएको बताउनु भएको थियो ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top