राजनीति

सदस्यता नविकरण कार्यलाई तिव्रता दिदै नेकपा बुटवल 

असोज १५, 2077    बुटवल पोस्ट

बुटवल, असोज १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले पार्टी सदस्यहरुको नविकरण र सदस्यता विस्तारको कामलाई तिव्रता दिएको छ । 

पार्टी केन्द्रले पार्टी सदस्यहरुको अभिलेखिकरण र नविकरण कार्यलाई छिटो सक्ने निर्णय गरे बमोजिम बुटवल उपमहानगरले यहि असोज २० गतेभित्र सदस्यहरुको नविकरण कार्य सम्पन्न गरी माथिल्लो कमिटीमा पठाउने गरी अभियानलाई तिव्रता दिएको बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बताउनुभएको हो ।

२०७७ साल चैत्रमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको र सदस्यता नविकरण नगरेकाहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा सहभागी हुन नपाउने भएकाले २०७५, २०७६ र २०७७ सालको संगठित सदस्यता नविकरण कार्य यहि असोज २० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी मातहतका सबै कमिटीहरुलाई सर्कुलर गरिएको नगर कमिटी अध्यक्ष पन्थीले जानकारी दिनुभयो । 

विगतका वर्षहरुमा प्रत्येक वर्ष सदस्यता नविकरण गर्ने परिपार्टी रहेको हुँदा नविकरणमा समस्या थिएन तर अहिले पार्टी एकता प्रकृया समयमै टुंगिन नसक्दा ३ वर्षको एकमुष्ठ नविकरण गर्नुपरेकोले केही समस्या उत्पन्न भएको नगर अध्यक्ष पन्थीको भनाई रहेको थियो । 

बुटवल उपमहानगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले एकता र सक्रियताका साथ पार्टीले गरेका निर्णयहरूको कार्यान्वयनमा जुट्न आग्रह गर्नुभएको थियो । वहाँले अहिलेको जटिल परिस्थितिलाई एकजुट भएर सामना गर्दै देश र जनताको पक्षमा भएका उपलब्धिहरूका नयाँ–नयाँ कीर्तिमान कायम गर्दै अघि बढ्न अनुरोध गर्नुभएको थियो । 

बुटवल उपमहानगर कमिटीले नगर अन्तर्गत रहेका सबै शाखा कमिटीहरुको बैठक बसी संगठित सदस्यहरुको अभिलेखिकरण र नविकरणको विवरण यहि असोज १७ गतेसम्म कमिटीका अध्यक्ष र सचिवले प्रमाणित गरी नगर कार्यालयमा पठाउन निर्देशन गरिएको नगर कमिटीका संगठन विभाग प्रमुख केशव पन्थीले जानकारी गराउनुभएको थियो । 

नेकपा बुटवलले आफु मातहतका सम्पूर्ण पार्टी पंक्तिलाई कोभिड–१९ को महामारी र प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति भएको यस्तो अवस्थामा दुखमा परेका जनसमुदायहरुको उद्दार, राहत र व्यवस्थापनमा परिचालन हुन समेत निर्देशन गरेको छ । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top