ग्लोबल

बेरुत विष्फोट: लेबनानका प्रधानमन्त्री हसन दीबले राजिनामा दिए

साउन २७, 2077    बुटवल पोस्ट

बेरुत: सोमबार साँझ लेबनानका प्रधानमन्त्री हसन दीबले राजिनामा दिएका छन्। राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि जनस्तरमा आक्रोश बढ्दै गएसँगै प्रधानमन्त्री दीबको मन्त्रीमण्डलले राजिनामा दिएको हो।

२ सयको ज्यान जाने तथा ६ हजार घाइते हुने गरी भएको विष्फोटपछि सरकार परिवर्तनको माग भएको थियो। आक्रोशित समूहले आन्दोलन गर्दै आएका थिए।

प्रधानमन्त्री दीबले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राजिनामा दिएको घोषणा गरेका थिए।

विष्फोटपछि राजधानीको एक बन्दरगाहमा भण्डारण गरिएको २ हजार ७५० टन एमोनियम नाइट्रेट व्यवस्थापन गर्न नसकेको तथा भ्रष्ट्राचार भएको आरोप सरकारलाई लागेको छ। भण्डारण गरिएको सोही एमोनियम विष्फोट भएको थियो। 

यसैबीच प्रधानमन्त्री दीबको राजिनामा राष्ट्रपति माइकल इयोनले स्विकृत गरेका छन्। राजिनामा स्विकृतसँगै उनले नयाँ सरकार गठन नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा दीबकै सरकार रहने बताएका छन्।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top