अर्थ/बजार

लघुवित्त संघले दियो मौद्रिक नीतिमा सुझाव    

जेठ ३१, 2077    बुटवल पोस्ट

काठमाडौँ । लघुवित्त संघले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्तको क्षेत्रमा सम्बोधन गर्नुपर्ने विभिन्न १६ बुँदे सुझाव दिएको छ ।     
     
संघका अध्यक्ष जगतबहादुर पोखरेलको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै करिब ४६ लाख सदस्यलाई प्रत्यक्ष वित्तीय सेवा दिइरहेको र करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्रलाई विशेष ध्यान दिएर सम्बोधन गर्न अनुरोध गरेको छ ।     
     
वर्तमान असहज परिस्थितिका कारण लघुवित्त वित्तीय संस्थाको २ खर्ब ५६ अर्बभन्दा बढी लगानीमा रहेको रकम जोखिममा परेको र पछिल्लो अवस्थामा विद्यमान परिस्थितिका कारणले यी संस्थाहरुको खराब कर्जाको अंश अत्याधिक वृद्धि भई ठूलो रकम प्रोभिजन गर्नुपर्ने देखिएको भन्दै संघले सो सम्बन्धमा विशेष सम्बोधन गर्न माग गरेको छ ।     
     
संस्थाको संस्थागत क्षमता वृद्धि तथा पूँजीकोष अनुपातका लागि हकप्रद शेयरमार्फत पूँजी थप गर्न सकिने व्यवस्था गर्न र लगानी योग्य स्रोतको अभाव भइरहेका सन्दर्भ तथा सदस्यको समुन्नतिका लागि बचत वृद्धि गर्न, सर्वसाधारणबाट विविध बचत खातामार्फत बचत सङ्कलन गर्ने व्यवस्था समावेश गर्न उपयुक्त हुने संघले सुझाव दिएको छ ।     
     
लघुवित्त वित्तीय संस्थाको मुख्य कार्य लघु कर्जा भएको हुँदा बैंक वित्तीय संस्थाको कार्यमा विशिष्टीकरण गर्न लघु कर्जा लघुवित्त वित्तीय संस्थाबाट मात्र प्रवाह हुने व्यवस्था गर्न उपयुक्त हुने जनाएको छ ।     
     
संस्थाका लागि आवश्यक वित्तीय स्रोत वृद्धि गर्न छुट्टै लघुवित्त कर्जा कोषको स्थापना र कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बीमा कम्पनी जस्ता निकायबाट थोक कर्जा लिन पाउने व्यवस्थापन गर्न उपयुक्त हुने संघले जनाएको छ । संघको ज्ञापनपत्र बुझ्दै गर्भनर अधिकारीले आगामी मौद्रिक नीतिमार्फत लघुवित्तको विषयमा केही न केही सम्बोधन गरिने विश्वास दिलाउनुभएको थियो ।   

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top