समाज

५ नं. प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १ लाख दिने

जेठ २०, 2077    बुटवल पोस्ट

बुटवल, जेठ २० । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको हो ।

बैठकले कोरोनाबाट मृत्यु भएकाहरुको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभएको छ । 

दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताउनुभएको हो ।

बैठकले कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताउनुभएको थियो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top