बिचार

निराशा होइन आशा जगाऔं, भ्रम होइन यथार्थ सन्देश दिऔं 

जेठ २०, 2077    बुटवल पोस्ट

हिजो आज केही मिडिया र सामाजिक सञ्जालमा सरकार विरुद्ध विभिन्न प्रकारका भ्रमित समाचार र गतिविधिहरु प्रकाशित हुँदै आएका छन् । त्यसैका आधारमा सामाजिक सञ्जालहरुमा त्यस्ता गतिविधिहरु भाइरल गराइएका छन् । यस प्रकारका गतिविधिले सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पार्ने र नकरात्मक टिका टिप्पणी गरेर आम जनसमुदायमा भ्रम सिर्जना गरी सरकारप्रति अविश्वासको वातावरण सिर्जना गराउन अहोरात्र खटिएका छन् । 

कोरोनाको कहर सुरु हुनु भन्दा पहिलेको नियमित बजेट कार्यक्रम अन्तरगत खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनाको संकटसंग जोडेर राष्ट्रपति, मन्त्रिपरिषद र सरकारलाई बदनाम गर्न खोज्नेको नियत वुझ्न सकिन्छ । कोरोना महामारी विरुद्ध जुध्न खरिद प्रकृयामा नगएका थुप्रै कार्यक्रमलाई सरकारले स्थगित गरेर आवश्यक रकमको जोहो गरेको यथार्थ तथ्यलाई पनि नविर्सौं ।

यतिवेला भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्ने अभियानमा सिंगो राष्ट्र जुट्ने वेला राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । कुनै पनि कुराको सत्य र तथ्य यथार्थ नबुझिकन हजुवाका भरमा विरोधका लागि बिरोध गर्ने शैलीले हामीलाई केही समय त आनन्द आउला तर वास्तविक जिवनमा त्यसले धेरै ठूलो हानी नोक्सानी पुर्याउछ नै । त्यसतर्फ हामी सबैले समयमै ध्यान केन्द्रीत गरौं । सामाजिक सञ्जाललाई सही रुपमा सदुपयोग गरी विश्वासिलो र भरपर्दाे बनाऔं, आम जनसमुदायमा निराशा होइन आशा जगाऔं, भ्रम होइन यथार्थ सन्देश दिऔं । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top