बिचार

जातीय समानता स्थापित गर्ने वाटो

जेठ १९, 2077    शंकर पोखरेल

यतिवेला समाजमा घटेका छुवाछुत र जातिभेदजन्य घटना र अपराधवाट नयाँ शिरावाट वहस सुरु भएको छ । समस्याप्रति चिन्ता प्रकट गर्दै विभिन्न दृष्टिकोणहरु सार्वजनिक भइरहेका छन् । मेरो विचारमा विगतमा छुवाछुत र जातिभेदका विरुद्ध भगत सर्वजित र मोदनाथ प्रश्रितको सामाजिक र साँस्कृतिक अभियान नै सही थियो । त्यसले समाजमा सामाजिक साँस्कृतिक जागरण र सुधारमा जोड दिन्थ्यो । राजनीतिक अभियानलाई पनि त्यसैसंग जोड्दथ्यो । तर पछिल्लो समय सामाजिक र सांस्कृतिक जागरणको पक्षलाई कम महत्व दिएर राजनैतिक र कानुनी अधिकारको पक्षमा जोड दिने काम भयो । त्यसमा पनि अधिकारलाई मुलतः पहिचानलाई स्थापितगर्ने कुरामा केन्द्रीत गरियो। परिणाम स्वरुप संविधानसभावाट ती विषयहरु महत्वकासाथ संस्थागत पनि भए । तर सामाजिक र साँस्कृतिक जागरणको अभावमा छुवाछुत र विभेदको विषय राज्यद्वारा थोपरिएको डर वा दण्डको विषयका रुपमा देखिन पुग्यो । समता र समानताको सामाजिक साँस्कृतिक मनोविज्ञानको विकास हुन सकेन ।

समानता र अधिकारको दृष्टिकोणवाट नेपालको सम्विधान निकै सबल मानिन्छ । तर संविधान जारी भएपछि घटेका छुवाछुतजन्य र विभेदकारी हिंसाका घटनाहरु घटिनै रहेका छन् ।कपिपय त मानवतालाई कलंकित गर्ने र गंभीर अपराधिक प्रकृतीका समेत रहेका छन् । अदृष्य विभेदका घटनाहरु त कति होलान ती सबै वाहिर आउने कुरा नै भएन ।पछिल्लो समय रुकुम चौरझारीमा घटेको अमानवीय र अपराधिक घटनालाई समस्यालाई गंभीर रुपमा उजागर गरेको छ। हाम्रो राजनीतिक आन्दोलन र संविधानले परिकल्पना गरेको समानतामा आधारित सभ्य समाज निर्माण गर्ने हो भने कानुनी प्रवन्धसंगै सामाजिक र साँस्कृतिक रुपान्तरणको अभियानमा जोड दिनु पर्दछ । कानुनी उपचारवाट उत्पन्नहुने भयले हिंसा कमगर्न सहयोग त गर्छ त्यसलाई पूर्णतः निर्मुल गर्न सक्तैन । अनि त्यसले सामाजिक र साँस्कृतिक रुपमा जरो गाडेर वसेको सामाजिक मनोविज्ञानलाई वदल्न पनि सक्तैन । त्यसमाथि दलित पहिचानको विषय निरन्तर कायम राखिरहने कुराले विभेदपूर्ण र अमानविय सामाजिक सम्वन्ध र मनोविज्ञानलाई कुनै न कुनै रुपमा पृष्ठपोषणगर्ने सम्भावना रहन्छ ।
विगतमा दलित समुदायका अगुवाहरुमा दलित समुदायका रुपमा चिनाइने थर वा जातका ठाउमा मुलथर वा उपनामलाई थरको रुपमा प्रयोगगर्ने चलत सुरुभएको थियो । त्यो राम्रो सुरुवात थियो । किनकी त्यसले समयक्रममा विभेदलाई समाजवाट सदाका लागि अन्त्यगर्ने सम्भावना प्रवल वन्दथ्यो । तर पछिल्लो समयमा तिव्र बन्न पुगेको पहिचानको आन्दोलनले त्यसलाई कमजोरी वा डरका रुपमा चित्रण गर्ने काम गर्यो ।परिणाम स्वरुप मौलिक थर वा उपनाममा आधारित थर प्रयोगको प्रचलन हराउन पुग्यो । सदियौ देखि समाजमा कुप्रथाको रुपमा समाजमा जरो गाडेर वसेको सामाजिक साँस्कृतिक अपचलनलाई मौलिक थर वा नयाँ थर प्रयोगले तत्कालै नभए पनि एउटा निश्चित कालखण्ड पछि सकारात्मक नै सहयोग पुग्ने थियो । नयाँ र समतामुलक समाजको निर्माणका सन्दर्भमा यो पनि एउटा महत्वपूर्ण तरिका नै हो ।

यद्यपी छुवाछुत प्रथा र जातिभेद दासप्रथा कालिन श्रमशोषणसंग जोडिएर विकास भएको मानिन्छ । पछि सामन्तवादले त्यसलाई धर्म र संस्कृतीको रुपमा सुदृढ बनाउने काम गर्यो । सामन्ती पछौटे उत्पादन सम्वन्धको परिवर्तनसंगै यसमा क्रमशः परिवर्तन आउनु अनिवार्य छ । तर संस्कृती र धर्मसंग जोडिएर जव्वर बनेको कुप्रथालाई वदल्नका लागि आर्थिक सामाजिक अवस्थामा हुने परिवर्तनले पनि महत्वपूर्ण भूमिका खेल्न पुग्दछ । वालीप्रथा आधारित पछौटे ग्रामिण सामाजिक सम्वन्धको तुलनामा आधुनिक बजार प्रणालीको विकासले पनि यसमा रुपान्तरण ल्याउन सहयोग नै पुर्याउछ । ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा छुवाछुत जन्य क्रियाकलाप निकै कम हुदै गएको भए पनि समानता र समताको मनोविज्ञानको निर्माण शहरी क्षेत्रमा समेत हुन सकिरहेको छैन । यसका लागि तिव्र आर्थिक सामाजिक विकास र रुपान्तरणको आवश्यकता पर्दछ ।

आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि शिक्षा र सामुहिकतामा आधारित सामाजिक सम्वन्धको विकास आवश्यक पर्दछ । जति शिक्षा र सामुहिकतामा आधारित सामाजिक सम्वन्धको विस्तार गर्न सकिन्छ त्यतिनै मानवियता र सामाजिकताको विकासमा सहयोग पुग्दछ । तर हजारौ वर्षदेखि समाजमा वन्चितिकरणमा परेको समुदायलाई त्यो हैसियतमा माथि उठाउनका लागि आर्थिक र सामाजिक अवस्थामा सुधार पनि त्यतिकै आवश्यक हुन्छ । अहिलेको अवस्थामा दलित समुदायमा केन्द्रीत आर्थिक सामाजिक कार्यक्रम र अन्य समुदायमा सामाजिक र साँस्कृतिक अभियानमा जोड दिनु पर्दछ । यद्यपी राज्यले छुवाछुतजन्य क्रियाकलापलाई सामाजिक अपराध मानिसकेको अवस्थामा त्यस विषयमा नागरिकलाई सचेत बनाउदै कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्दछ ।

छुवाछुत र जातिभेदको कुरा गर्दा अन्तरसमुदाय विभेदको कुरा पनि उठ्ने गर्दछ । दलित समुदाय भित्रको अन्तर समुदाय विभेद छ । कतिपय अवस्थामा त्यो पनि गंभीर रुपमा देखिने गर्दछ । तर त्यसको आफ्नो मौलिक सामाजिक र साँस्कृतिक धरातल छैन । छुवाछुत र जातिभेदको मुलजरोको समस्या समाधान हुने वित्तिकै दलित समुदाय भित्रको अन्तर समुदाय विभेदको विषय स्वतः समाधान हुनपुग्नेछ । तसर्थ यस विषयलाई आधार बनाएर विभेद विरुद्धको संघर्ष र अभियानलाई कमजोर वन्न दिनु हुदैन ।

युगान्तकारी परिवर्तन पछि संविधानसभा वाट नयाँ संविधान जारीभएपछि नेपाली समाजमा छुवाछुत र जातिभेदजन्य क्रियाकलाहर अपराधको रुपमा समेत प्रकट हुनु गंभीर चिन्ताको विषय हो । यस्ता गंभीर प्रकृतीका घटनाक्रमले हामीलाई समानतामा आधारित समाज नि्माणका लागि समिक्षात्मक रुपमा अघि वढ्ने चुनौती खडा गरेका छन् । दलित समुदायका अगुवाहरुले यो विषयमा सदैव हामीले नै कुरा उठाउने अवस्था रहेको भनेर गुनासो गर्ने गरेको पाइन्छ । त्यो वास्तवमा जायज विषय नै हो । समस्याको पहिलो अनुभूतीकर्ता पिडित पक्षनै हुने भए पनि समस्या समाधानको नेतृत्व भने मुलधारको राजनीतिले लिनु पर्दछ ।त्यसमाथि सामाजवादको आधार तयारगरी शान्तिपूर्ण र वैधानिक वाटोवाट सामाजवादपुग्ने लक्ष लिएको नेकपाले त यसलाई आफ्नो मुख्य कार्यभार र चुनौतीका रुपमा ग्रहण गर्नु पर्दछ ।
छुवाछुत जन्य क्रियाकलाप र जातिभेदलाई संविधान र कानुनले नै अस्विकार गरी दण्डनिय बनाइसकेको परिप्रेक्षमा आर्थिक सामाजिक विकास र साँस्कृतिक रुपान्तरणलाई तिव्र बनाउने कुरा यस सन्दर्भमा मुख्य काम हो । सुखी नेपाली समृद्ध नेपालको लक्ष वोकेको नेकपाका लागि सामाजिक र साँस्कृति रुपान्तरणको कामलाई महत्वका साथ अघि वढाउने दायित्व यतिवेला टड्कारो रुपमा सामुन्नमा आएको छ । सामन्ती समाजले स्थापित गरेको विभेदकारी परिचयलाई पहिचानका रुपमा स्थापित गर्नेवाटोवाट सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि कठिन र दुरुह कुरा हो । तसर्थ नेकपा र नेकपाको नेतृत्वको सरकारले भगत सर्वजीत र मोदनाथ प्रश्रितहरुले सुरुगर्नुभएको सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानलाई नयाँ शिरावाट अघि वढाएरनै यो जिम्मेवारी सफलतापूर्वक पुरा गर्न सक्दछ । (लेखक – प्रदेश ५ का माननीय मुख्यमन्त्री हुनुहुन्छ ।) 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top