समाज

मुख्यमन्त्री पोखरेलले दिनुभएको ईद पर्वको शुभकामना सन्देश 

जेठ १२, 2077    बुटवल पोस्ट

बुटवल, जेठ १२ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । वहाँले शुभकामना सन्देश मार्फत ईद पर्वले समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।  

मुख्यमन्त्री पोखरेलले ईद पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश यस प्रकार रहेको छ :
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल  सांस्कृतिक विविधता भएको मुलुक हो ।  विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको छ  । विविधतायुक्त समाजमा मनाइने  सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन् ।  ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ ।  संविधान कार्यान्वयन गर्दै  संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास लिएको छु ।

यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक,प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ । 

कोभिड —१९ को जोखिम न्युनिकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न  नागरिकको साथ आवश्यक पर्छ । लडकडाउनको पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । लकडाउनका कारण नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, तर लकडाउनकै कारण कोरोना जोखिम न्युनिकरणमा बल पुगेको  छ । यो कठीन समयमा कोही नागरिक भोक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ । अब राहत पाउनुपर्ने वर्गलाई श्रमयुक्त रोजगारी दिने गरी काम अघि बढाइएको छ ।

कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । ईद पर्व मनाउँदा पनि सामाजिक दुरी कायम गरी मनाउनु हुन हार्दिक अपील गर्दछु । कोभिड—१९ नियन्त्रण र उपचारमा चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका योद्धा हुन् । कोभिड —१९ को नियन्त्रण र उपचारमा खटिनुभएका सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु ।

अन्त्यमा, ईद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । 

शंकर पोखरेल
मुख्यमन्त्री
२०७७ जेठ १२ गते सोमवार

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top