बिचार

तार्गेटमा सरकार, निसाना जवज 

बैशाख १४, 2077    नरबहादुर घर्ती

गन्ध चलेसी नखोलियको बिर्को र धुवाँ निस्किएसी नहेरिएको आगो दुवै भयंकर हानिकारक हुन्छन । बिर्को नखोल्दा किरै पर्न सक्छ, आगो नहेर्दा ज्वाला निस्कन सक्छ, खरानिनै हुनपनी सक्छ । यो कुरा आदरणीय कमरेडहरु धेरैलाई थाहा छ । तर पनि गन्ध पचाएरै, धुवाँ सहेरै आँखा मिची मिची नबोलेरै सबै बस्नुभाछ । यतिसम्मत अनुसासन र आसाको त्यान्द्रोले सबैका ओँठ चप्काएरै राख्यो तर अव पनी सत्य र यथार्थको पक्षमा ओंठ खोलिएन, आवाज निकालिएन भने सत्य र यथार्थहरु दविएर जानेछन र तिनको पक्षमा बोल्ने वकालत गर्नेहरुलाई दवाइनेछ, एक्ल्याईनेछ, खिशि टिउरी गरिनेछ, बदनाम गरिनेछ र वायस गरिनेछ । छोटोमा सिधै भन्दा जवजलाई चक्नाचुर पारिनेछ । यसका पक्षधर र यसको लाईनमा हिड्नेलाइ लांछ्ना लगाईनेछ,लंगडो पारिनेछ, सिध्याउन भर मग्दुर प्रयास हुनेछन र त्यसका ठाउंमा कुनै अर्को वाद, विचारधारा वा अन्य केही थोपरिनेछ । जस्को परिणाम नेपाल पुन अस्थिरतामा धकेलिने छ । यहाँ वाह्य चलखेलको बिगविगी र ब्याप्तता हुनेछ । वाह्य शक्तिले नै आफ्ना स्वार्थानुकुल फेरि फेरि सबैलाई सत्तामोह अनुभव गराउनेछन । हाम्रा श्रोत साधन सक्याउने छन । हामिलाई आपसमा लडाउने छ्न । हामी उत्तेजित भएर लड्नेछौ । हाँम्रो सपना, समृद्दि र स्वाभिमानले  धुलाको कणसंगै उडेर हामिलाइ गिज्याईरहेको हुनेछ । हाम्रा छोराछोरिहरुको अनुहार निन्याउरो, निराशाजनक र गन्तब्यहिन देखिनेछन । अन्तत हामिलाई पश्चात्तापको बज्रपातले हानिरहेको हुनेछ ।

अहिले हामीले ख्याल पुर्याएनौं भने निकट भबिश्यमै हामिले ब्यहोर्ने यो भाँती र चित्र कुनै भावावेशमा आयर वा कुनै दैवी शक्तिले प्रेरित गरेर प्रस्तुत गरिएको होइन । यसलाइ पुष्टि गर्ने आधारहरु छन र विगतमा धेरैपटक  प्रमाणित भैपनी सकेका छ्न । अहिलेपनी घट्नाक्रमहरुले त्यता पाइलो चालिसकेको छ । सचेत र जागरुक भयनौं भने घट्ना दोहोरिने निश्चित छ ।

वास्तवमै नेपाल सत्ता र राजनितिका दृष्टिकोणले  पृथ्वीनारायण शाहको मृत्यु पछि अहिलेसम्मै अस्थिर रह्यो। यो हामी नेपालीहरुको चाहना नहुँदा नहुँदै पनी यसलाइ पक्षपोषण गर्ने केही आन्तरिक र वाह्य पक्ष हावी रहिनै रहे र अध्यावी छन।भविश्यमात यो अझै बढ्नेछ । विगतका केही घट्नाहरु हेरौं । टाढा जानै परेन।महामानव भनिएका स्वयम् बिपि कोइराला छँदै २०१५ सालमा नेपाली काग्रेसले दुइ तिहाईभन्दा वढी लगभग ७९५ सिट जितेर सरकार बनायो । काग्रेसले  देस र जनताको लागि गर्न  चाहेको भए त्यो एउटा ईतिहासमै दुर्लभ र अपुर्व अवसर थियो । तर काग्रेसले देस र जनताको निम्ति गर्नु त के त्यो अपुर्व जनमत पाएको आफ्नै सरकार धान्नमात्रै पनि सकेन । आपसी कलह, गुट(उपगुट,वैमस्यता दरवारको दाउपेच र वाह्य रुचिमा काग्रेस पतन भयो र दरवारमा लगेर सत्ता राजालाई सुम्पियो ।  नेपाली जनताले फेरि ३० वर्ष निरंकुस पंचायती ब्यबस्था ब्यहोर्नु पर्यो । लाखौंको आन्दोलन र हज्जारौंको वलिदानीले २०४६ सालमा निरंकुश पंचायती ब्यबस्थाको अन्त्य र बहुदलीय ब्यबस्थाको स्थापना भयो । २०४८ सालमा आमनिर्वाचन सम्पन्न भयो जसमा २०५ मध्ये ११३ सिट काग्रेस एक्लै ल्यायो र बहुमत सहित एक्लौटी सरकार बनायो । देस र जनताको निम्ति काम गर्न चाहाने हो भने काग्रेसले फेरि सुवर्ण मौका पायो तर उ त काम गर्न छाडेर कम्युनिष्ट दवाउन तिर पो लाग्यो । पुन काग्रेसमा आन्तरिक कचिंगल उठ्यो । सत्तामोहले विवाद चुलियो र गिरिजाले नेतृत्व गरेको सरकार काग्रेसको आफ्नै कारणले विचैमा ढल्यो । २०५१ सालमा मध्यावधी चुनाव भयो । ८१ सिट जितेर एमाले ठूलो पार्टी बन्यो । क.मनमोहनको नेतृत्वमा ठूलो दलको हैसियतले एमालेले अल्पमतको सरकार बनायो । जम्मा ९ सदस्यीय मन्त्री मण्डल रहेको यो सरकारले देस र जनताको पक्षमा अभुतपुर्व काम  गर्यो र इतिहासकै लोकपृय सरकार बन्यो । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम यसैको उपज हो । यसको जनपृय काम र बढ्दो लोकपृयता देखेर अस्थिरता चाहने स्वदेसी बिदेसी शक्ति अत्तालिय र यो सरकारलाइ अघि बढ्न दिइएन, नौ महिनामै ढालियो । त्यतिबेलासम्म देसि बिदेसी प्रतिकृयावादी शक्तिहरु र अस्थिरता चाहनेहरुले राम्रोसंग चाल पाईसकेका थिएकी अब एमालेलाइ फुटाईएन भने जनताले यसलाइ बहुमत दिनेछन र कम्युनिस्टको स्थाई सरकार बन्नेछ । अस्थिरताबाट फाइदा लिनेहरुका निम्ति यो सह्य थिएन । त्यसैले अनेक घट्नाक्रमहरुको रचना र बिकास गरियो। जननेता मदन भण्डारी र कमरेड जिवराजको रहस्यमय दासढुङ्गा दुर्घट्ना भयो।समय बित्दै जाँदा क्रमश कमरेडहरु आपसमै जुध्नु भो, रडाको मच्चाउनुभो ।  संगै हुनै नसकिने र एकैठाउँ ज्यानगए बस्नै नसकिने नाटक मंचन गरियो र अन्तत पार्टी फुटाइयो । जनताको आसा  भरोसा र सपनालाई फेरि धुलो पारियो । योपछि त राज्य अत्यन्तै अस्थिर भयो । परिस्थितिहरु भयावह भए । 

अनेक सरकारहरु फेरिए । त्यो पनि अरुकै चाहनामा हुँदा हुँद ा बिरेन्द्रको बंश बिनास भयो । देउवाले सत्ता काग्रेसको तर्फबाट पुन राजालाई नै बुझाए ।जंगल पसेको माओवादी ससस्त्र युद्ध गरिरहयो । टाउकाको मुल्य तोकियो । अत्यन्तै अस्थिर, भयावह र पिडादायी दुर्दसाबाट लामो समय त्रासमय वातावरणमा नेपालीले गुजार्नुपर्यो । सत्रहजार नेपालीले ज्यान गुमाए । हजारौं अंगभंग भए । घरवास बिहिन र बेपत्ता हुनेको त अहिलेसम्म लेखाजोखा छैन । अनेक प्रयास र परिस्थितिको बिकसितता एवं गंभिर्यताले २०६२÷०६३ मा पुन सवैलाई एकठाममा ल्याईपुर्यायो । १९ दिने जनआन्दोलनबाट जनताको नासो भन्दै राजाले जनताको अधिकार फिर्ता गर्न बाध्य भए । शान्ति सम्झौता भयो । चुनाव पनि भयो । माओवादी पहिलो पार्टी बन्यो.काग्रेस एमाले दोस्रो र तेस्रोमा धकेलिए । माओवादी र एमालेको सरकार बन्यो तर यो पनि टिक्नै सकेन । भित्री बाहिरी अनेक प्रपंचले रहनै दिइएन । त्यसपछी त के के भो ? भनि साध्य पनी छैन, नजान्या पनि कोहि हुनहुन्न । पहिलो संविधानसभाले संविधान बनाउनै सकेन । बनाउनै दिइएन । हुँदा हुँदा त परिस्थिति यस्तो सम्म बन्न पुग्यो कि, राजनीतिक पार्टीहरु ओझेल परेर प्रधान न्यायधिशको अध्यक्षतामा मन्त्रीमण्डल समेत गठन भयो । अनेक अड्कलवाजीहरुका वावजुद यसले चुनाव सम्पन्न गरायो । दोस्रो संबिधानसभाबाट जनताका प्राप्त अधिकारहश्रलाई  संस्थागत गरियो । संविधान जारी भयो । 

संविधानले ब्यबस्था गरे अनुसार देस तिनवटै सरकारको चुनावतिर होमियो । चुनावमा पनि वडा, गाउँ, नगरदेखि क्षेत्र हुँदै प्रदेससम्मको रचना र रेखाङ्कन, सिमाङ्कनमा अनेक तिकडम्वाजी र धुर्त्याईंका शकुनी पासाहरु  फेकियो । यसरी सत्ताका सबै शक्ति दुरुपयोग गरेर गराईएको स्थानिय चुनाव पनि सत्ता बाहिर भएको एमालेले अधिकांस तहमा जित्यो र गुमाएका तहहरु पनि अत्यन्तै झिनो मतको अन्तर हुदा जो कसैले सजिलै अनुमान गर्न सक्थ्यो कि जनताको साथ एमालेलाई छ । एमाले र माओवादी (तत्कालिन) ले आ–आफ्नो मत देखे । जनताको कम्युनिस्टप्रतिको आकर्षण पनि देखे र राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई समेत ख्याल गर्दै नेपाली जनताको उत्कृट चाहना र सपना पुरा गर्ने गरी प्रदेससभा र संसदीय क्षेत्रको चुनावमा निकट भविस्यमा पार्टी एकता र तत्काल चुनावी एकताको घोषणा केन्द्रबाट गरियो । जनताले यसलाई व्यापक साथ दिए । परिणामत नेकपाले करिव करिव दुई तिहाईको नजिक सिट जित्यो । यत्रो प्रचण्ड बहुमत आउदा पनी अनेक कानुनी अड्चन थापेर काग्रेसले लामो समय सरकार छाडेन । उल्टै अनेक राजनीतिक नियुक्तिहरु गर्यो । राष्ट्रियसभाको निर्वाचन प्रकृयामा किचलो निकाल्यो । बल्लतल्ल सरकार गठनको बाटो खुलेपनी भागवण्डाले हामीलाई कति गाँज्यो । हामी क्रान्तिकारीहर पद भन्दा कति मर्दा रहेछौ ? सरकार गठन र पार्टीको एकता प्रकृयामा नेताहरुले देखाएको ब्यबहारले छताछुल्लै भैसकेको छ । हालसम्म पनी मसिनो गरी केन्द्रदेखि टोलसम्म र सबै जनसंगठनमा भावनात्मक एकताको खाली ठाउँ त केन्द्रमा बसिराख्ने पुर्वकाको बैठक, घुल्न नसक्नेहरुले सामाजिक संजालमा पोष्ट्याएका स्टाटस र कमेन्ट तथा दिन छाडेर लिन चाही प्रसेन्ट हिसाब गरेर माना पाथी र ढक तराजु हातमा लिई हर्दम तयार भैराख्ने कमरेडहरुको ब्यबहारले नै देखाईरहेको छ । 

यो कुनै खेलाँची र चानेचुने कुरो छैन कि भारत जस्तो विशाल बिस्तारवादी र पुजिँवाद परस्त राज्यको सिरानीमा एउटा जम्मा तीन करोड जनसंख्या भएको नेपालजस्तो राज्यले संबिधा नै समाजवाद उन्मुख बनाएको छ र विश्व मानचित्रमा जनताको मन जितेर कम्युनिष्टको सरकार संचालन गरिरहेको छ । यो विश्वको कुनै पनी न्याय र अधिकार प्राप्तिका गौरव गर्न लायक सफलताहरुमा सबै भन्दा ओजनदार छ । जुन  संसारले हेरिरहेको महाशक्ती चिनको आडैमा हामीले आफ्नै मोडेलमा स्थापित गरेका छौं ।

गर्भमा खानी नभै चट्टान फुटाल्ने प्रयत्नै हुँदैन । सन्दुकमा सम्पत्तिको एकिन नगरी चोरले लामो हात गर्दैन । अहिले हामीसंग विश्व राजनीतिको डायमण्ड छ । सर्वहारा श्रमजिवी र शोषित पीडित सम्पूर्ण जनसमुदायको मुक्तिको मार्ग छ । विश्व कम्युनिष्ट आन्दोलनको सफलताको सुत्र छ । सबैले हामीलाई हेरिरहेका छन । बिश्वभरिका श्रमिक, किसान, न्यायप्रेमी जनसमुदाय र सम्पुर्ण क्रान्तिकारीहरुले हामीलाई वडो सम्मानका साथ हेरिरहेका छन । एक्काईसौं शताव्दीको आईडल मानेका छन । तर विश्वका साम्राज्यवादीहरु पुँजीवादीहरु, देशभित्रैका दलाल पुँजिपतिहरु, जनता र देस बिरुद्धका अनेक सत्ता र शक्तिका एजेन्टहरु, अस्थिरता र बिखण्डनबाट फाईदा लुट्न चाहनेहरु, सुदखोर, कालोबजारिया, कृतिम अभाव सृजना गरेर महंगी बढाउनेहरु, भष्टाचारी, भूमाफियाहरु, तस्करहरु, कर छली गर्नेहरु, ठग ठेकेदारहरु, विभिन्न अवैध धन्दाका कारोवारीहरुले हामीलाई यो सरकार र यो पार्टीलाई शत्रुको रुपमा हेरिरहेका छ्न र दुश्मनको व्यवहार दर्साउँछन । कुभलो चिताउछन । आफु आफुमा उक्साउछन, लडाउछन, प्रलोभनमा पार्छन, रकम खर्चिन्छन । सुरासुन्दरीको प्रयोग गर्छन । उच्चस्तरका कर्मचारीहरुलाई प्रयोग गर्छन । मिडियाहरुलाई आफ्नो बनाएर प्रोपोगाण्डा फिंजाउछन, सुरक्षा संयन्त्रहरुमा भड्काउन कोसिस गर्छन । आफु आफुमा पद प्रतिष्ठाको ईगो सृजना गराउँछन । गुट उपगुटमा राम्रोसंग खेल्छ्न । अनेक अनेक गरेर जुनसुकै हतकण्डा अपनाएर या त फुटाउँछ्न या त बदनाम कलंकित र असक्षम बनाउछन र जनताको नजरबाट गिराउछन, र उहीँ पुरानो हबिगत बनाईदिन्छन । ती देस र जनताका सत्रुहरु यो सरकार, यो नेतृत्व  र यो पार्टीसंग रिसाउनु, खनिनु र अतिचार गर्नुको एउटै कारण छ । त्यो हो जनताको बहुदलीय जनवाद ! ती देस र जनता बिरोधी तत्वलाई ब्यक्ती रोजछाडको कुनै कुरो छैन । केपी कुनै अन्य ग्रहको  अन्यत्री र प्रचण्ड तिनको मितबात होइनन । ईश्वर पोख्रेल सौतेली र भिम रावल साख्खै पनि होइनन । यसको मुख्य कारक हो नीति । ब्यक्तिले नीति अनुसार काम गर्छ । कुर्चिमा जो गए पनि उ चल्ने भनेको नीति अनुसारै हो ।

प्रतिकृयावादिहरुका विश्वस्तरका सम्पूर्ण भ्रमहरुलाई चिर्दै जनताको मन जितेर कम्युनिष्टलाई सत्तामा पुर्याउने जवज प्रत्येक जनजनको मनमा यति गहिरोसंग बसिसक्यो कि  त्यसलाई अब अलग गर्नै सकिन्न । अत अहिले यसलाई प्रहार गर्न एउटा घुमाउरो तरिका बिकास गरिएको छ । त्यो के भने जवजको वकालत गर्ने त्यसको ब्याख्या बिश्लेषण गर्ने, त्यसका सिद्धान्तहरुलाई लागू गर्ने र नेतृत्व गर्नेलाई एक एक गरेर बदनाम गर्ने, एक्ल्याउने, घेरावन्दी गर्ने, काम गर्न नदिने, नेतृत्वबाट च्युत गर्दै जाने, हर तरहबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमै कमजोर बनाउदै जाने, अनेक भ्रमहरु सृजना गर्ने, संगठनहरुबाट बिस्थापित गर्दै जानेर जसरी हुन्छ, सिध्याउन कोसिस गर्ने, अहिले जवजको बिरुद्धमा सोझै बोल्दा जनताले त्यसको प्रतिवाद गर्छन त्यसैले ब्यक्ती र नेतृत्वलाई सिध्याउँदै जाने उच्च तकनिकिको प्रयोग भएको छ । दिवंगत कमरेड रबिन्द्र बाट शुरु भएको यो तकनिकी गोकुल, ईश्वर, भानुभक्त हुँदै महेशसम्म आईपुगेको छ । सम्भवत अब यो बिस्तारै क.शंकर, क.प्रदिप हँुदै बहने छ । ओलीलाई एक्ल्याउन प्रयासहरु हुनेछन.अरु त के जवज कै पृष्टभुमिबाट सांसद, मन्त्री र उच्च  पद आसिनहरु  समेत यसको बिरुद्धमा लाग्ने जमर्को गर्नेछन । यसको समर्थन त उनिहरुलाई ज्वरोमा परेको चिचीण्डो सरह हुनेछ । कतिलाई त आफै मिनी कार्लमाक्स बन्ने ईच्छाले  जुरुक जुरुक उचाल्दो हो । कतिलाई जवजले जस पाउछ कि भन्ने जलन पनि जाग्ला ! हामी कहाँ यसलाई गाउँको जोगी भातमाराको हिसावले हेरिए पनी यसका मुल दुश्मनहरुले यसको गति शक्ति र उपलब्धिलाई राम्रोसंग बुझेका छन । उनिहरुले यो पनि राम्रोसङ्ग बुझेका छन कि आन्तरिक रुपमै प्रहार गर्न सकिएन भने यो अजेय छ । त्यसैकारणले पार्टीभित्र पनि जो जवजका बिरुद्ध उभिन्छ उसको धेरै चर्चा परिचर्चा हुनेछ । मिडियाहरु त्यसको पछि लाग्नेछन, उचाल्नेछन, हाई हाई बनाइने छ । नेताहरुको पनी वाहिवाही बटुल्नेछ । बिदेसी एजेन्टहरु र अस्थिरतावादीहरुले भेटघाट बाक्लो पार्नेछन । जवजप्रति भएको जनताको बिस्वास र त्यो कवच भत्काउन धेरै र ठुला प्रयासहरु निरन्तर भै नै रहनेछन । सरकारका उत्तरार्धका  वर्षहरु र पार्टी महाधिबेसनका नजिक नजिक त झन यी बिषय र प्रयत्नहरुलाई अझै पेचिलो पारिनेछ । कम्युनिष्टहरुले निषेधको निषेधलाई त बुझेकै हुन्छन । पार्टीको घोषित नीति तथा कार्यक्रमलाई सम्पुर्ण  नेता तथा कार्यकर्ताले अवलम्वन पनि गर्नुपर्छ । तर  सर्वाधिकार सम्पन्न आम जनसमुदायबाट सिफारिस र प्रमाणित भै प्रस्तुत गरिएको मुल बिषयबस्तुलाई नै हामी छद्द्मबेशी रुपमा उखेल्न खोज्यौं र नकार्न खोज्यौं भने जनताले हामीलाई कस्तो प्रश्न गर्लान ? यो बेईमानीका विरुद्ध आउँदा दिनमा कस्तो उत्तर फर्काउलान ?

आम जनसमुदायको भोट र असिम मायाँ पाएर सत्तासिन भएको हाम्रो मध्यम स्तरिय ठुलो नेतृत्व पङति देशै भरी छ । पार्टी र जनसङ्गठनको ठूलो तह पनी छ । तर त्यो यति अनुशासित भएर बसेको छ कि कत्ति नै होस चुँ गर्दैन । बरु जोखना हेरेर बस्छ र जसको पल्ला भारी हुन्छ, त्यतै टाँसिन पनि बेर लाउँदैन । यसको मतलव सधै बोलिरहनुपर्छ, पार्टीमा बिरोध उरालिरहनुपर्छ, नेताहरुलाई सुझ्याइरहनुपर्छ भन्ने पनी होईन । तर कहिलेकाहिं यस्तो अवस्था सिर्जना हुन्छ कि मौनता साँध्दा सत्य र यथार्थता मर्छ । पार्टीको मूल स्प्रीट दविन्छ । आम जनता र कार्यकर्ताको भावना माथी खेलवाड हुने परिस्थितिको सृजना हुन्छ । आवाज नपुग्दा बहुमतका नाममा पाँचदश जनाले करोडौंको भावना कुल्चिने डर हुन्छ. हामीले जनतासंग गरेका वाचा र प्रतिबद्धतालाई पुरा गर्न कठिनाई हुन सक्छ । हाम्रो मौन साधिकाले अर्को पुस्ता पुन आन्दोलनमा होमिन पर्ने पनी हुन सक्छ । त्यसैले आदरणीय नेताहरुमा  निर्णयले मूर्तता नपाउँदा तपाईहरुको आवाज पनि एउटा शक्ति हो । त्यसले पनि राष्ट्रिय माह्वल बनाउन सहयोग गर्छ । नेतालाई सच्चिन र तङ्ग्रीन पनि बल पुग्छ जसले गर्दा न्याय झ्यास्सै मर्न पाउँदैन । हाम्रो पार्टी सरकार र आदरणीय नेताहरुलाई बिरोधीहरुले तथानाम गाली गलौज गर्ने, खुल्लमखुल्ला च्यालेन्ज दिने, मनपरी गर्ने अश्लिल छाडा, देख्नै सुन्नै नसकिने शब्द लेख्ने बोल्ने, हाम्रा केही छिट्फुट्ले हो मा हो मिलाउने जस्ता कार्यहरुले हद पार गरिसके । अब हामी रमिता हेरेर बस्ने ? हाम्रा आँखा यहि देख्न बनेका हुन ? रास्ट्रपतिको आफ्नैले बिरोध गर्ने, प्रधानमन्त्रीको आफ्नैले सवैभन्दा वढी खोइरो खन्ने, सरकारको आफ्नैले उछितो काढ्ने ! होईन के हो यो ? हामी एउटै पार्टीमा छैनौं र भन्या ? बिग्रेका कुरा, असहमतिका कुरा, विमति सुझावहरुलाई पद्धतिगत ढङ्गले समाधान गर्दा हुन्न र ? आदरणीय नेताहरु हाम्रो स्प्रीड प्रधानमन्त्री, मन्त्री र सांसद नपाउना साथ बिरुद्धमा कुर्लिने र चलखेलमा संलग्न हुने नै हो त ? यहि संस्कार र पद्धतिले पुर्याउला त हामीलाई समाजवादमा ?

हामीले के बुझौं भने आज केपी सिध्याउन लाग्नेहरु भोलि प्रचण्ड, माधव र झलनाथ सिध्याउन पनि लाग्नेछन । जो अध्यक्ष र प्रधानमन्त्री बने पनि सवै नेता र पार्टीले उहाँहरुलाई सघाउने सफल पार्ने संस्कारको बिकास गरौं । किन भने हामीले सरकार धेरै वर्ष चलाउनुछ । सबैको भाग पुग्छ । तातै खाउं जलि मरु गरेर कुण्ठा नपोखौं । केपी ओली रहदा मात्रै सरकार रहने त्यसपछी सरकारै न आउने जस्तो गरेर यहि सरकारमा जान उछिना र पाछिना गरेको  कुरालाई जनताले अलि शोभनिय मानेका छैनन । सबैले त्यही सरकारको कुर्ची हेरेर बस्नु भन्दा कार्यकर्ता र जनतालाई भावनात्मक रुपमा एकतावद्ध पार्न लाग्दा जरुर अर्को पटक त्यो कुर्ची प्राप्त होला । एक भयर  काममा लाग्नुस, एकले अर्कोलाइ सिध्याउने शकुनी चाल रच्न थाल्नुभो भने निश्चित हुनुहोस कि तपाईहरु सबै सकिनु हुन्छ । चुनावमा जनतासंग गरेका वाचाहरु पूरा गर्न उद्धत हुनुहोस । गुटको नेता बन्न नकस्सिननहोस, देश र जनताको नेता बन्ने प्रयत्न गर्नुहोस । हामी कार्यकर्ता केही नेताका पेवा होइनौं । हामीलाई तपाईहरु सबैले आफ्नै सम्झनुहोस । देश निर्माणको महान कार्यमा हामी तपाईहरु सवैलाई साथ दिन्छौं । आवस्यक परे वलिदानी गर्छौं । तर अहिले सरकारलाई तार्गेट गर्ने र निसाना जवजलाई साँध्ने जुन दीर्घकालिन षड्यन्त्रको मार्गमा लिस्नो हाल्ने काम हुदैछ । कदाचित यस्ले कसैको पनि भलो गर्नेछैन । (लेखक नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य तथा शुद्धोधन गाउँ कमिटी अध्यक्ष हुनुहुन्छ ।)

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top