राजनीति

नेकपाका नेता तथा प्रदेश सांसद ढकालद्धारा स्वास्थ्य सामग्री प्रदान 

चैत्र २१, 2076    बुटवल पोस्ट

बुटवल, चैत्र २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश कमिटीका कार्यालय सदस्य तथा प्रदेशसभा सदस्य भुमिश्वर ढकालले विभिन्न स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य उपचारको लागि सुरक्षा सामग्री वितरण गर्नुभएको छ । रुपन्देही क्षेत्र नं. – ५ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ढकालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका ३ दुधराक्ष स्वास्थ्य चौकी, सालझन्डी स्वास्थ्य चौकी, हरैया स्वास्थ्य चौकी र सुर्यपूरा स्वास्थ्य चौकीमा कोरोना भाइरसबाट सुरक्षित भै जनताको सेवामा लाग्नको लागि स्वास्थ्य सेवकहरुको लागि पिपिई, सेनेटाइजर, गलभ, चस्मा लगायत अति आवश्यक सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका ढकालले स्थानिय सरकारका रुपमा रहेका नगरपालिका र गाँउपालिकाका प्रमुखहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणले विश्वलाई नै संकट पारिरहेको यो संकटमा सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । आफुले आफुलाई सुरक्षित बनाई घरमै क्वारेन्टाइनमा बसे कोरोनाको संक्रमणबाट जोगाउन सकिने सांसद ढकालले बताउनु भएको हो ।

सांसद ढकालले आफ्नो क्षेत्रका जनताप्रति सचेत भएको र आम जनताको सेवा गर्ने स्वास्थ्यकर्मीहरुको यतिबेला निकै जोखिम बन्ने भएकोले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि समयमै उपलब्ध गराउने प्रयत्न स्वरुप सुरक्षा सामाग्री आफ्नै ब्यक्तिगत खर्चले ब्यवस्थापन गरेको बताउनु भएको छ ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा सैनामैना नगर सचिव कृष्ण घिमिरे, कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्री, गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट, नेकपा कञ्चन गाउँ कमिटी अध्यक्ष भरतमणी सापकोटा, नेकपा गैडहवा गाउँ कमिटी अध्यक्ष दुर्गा आचार्य, सचिव चन्द्रप्रकाश घर्ती, सैनामैना नगरपालिका वडा नंं ६ का अध्यक्ष बसन्त पाण्डे, वडा नं. १० का अध्यक्ष लोकनारायण थापा, नेकपाका नेता रामु भुसाल, कल्पना कुवर, दुर्गा ढकाल, र सम्बन्धित स्वास्थ चौकीका प्रमुखको लगाएतको उपस्तिथिमा सम्पन्न भएको थियो । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top