राजनीति

कोरोनाबाट बच्नका लागि सर्तकर्ता अपनाउन नेकपाको आग्रह

चैत्र १७, 2076    बुटवल पोस्ट

बुटवल चैत्र १७  विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष सर्तकता अपनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले आग्रह गरेको छ । लकडाउनको दोस्रो चरणलाई अझ संवेदनशील रुपमा रहेको भन्दै अझ बढी सजग, सचेत र सावधान हुनुपर्ने आज एक प्रेस विज्ञप्ति जारी गरी सबैमा आग्रह गरिएको छ । नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जि.सी.को संयक्त हस्ताक्षरबाट जारी गरिएको प्रेस विज्ञप्तिमा लकडाउन आफ्नै सुरक्षा र थप सावधानीका लागि भएको भन्द घरमै बस्न, भीडभाडमा नजान र आफु सुरक्षित रहेर आम नागरिकलाई सुरक्षित गर्नेतर्फ लाग्न सबैमा आग्रह गरिएको छ । साथै बिदेशबाट आएकाहरुको पहिचान गरि स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राख्न आम कार्यकर्तालाई निर्देशन जारी समेत गरिएको छ । (विज्ञप्तिमा लेखिएको छ  ः) 

आदरणीय रुपन्देही वासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरु ! अहिले नेपाल सहित विश्वभरी नै कोरोनाको प्रभाव फैलिएको छ । यसबाट बच्नका लागि हरेक नागरिकले आफ्नो दैनिकी परिवर्तन गरेको अवस्था छ । प्रकोपबाट बच्न पहिले आफैले आफ्नै घरैदेखि सावधानी अपनाउन विशेष अनुरोध गर्दछौं । 
१. मुलुक लकडाउन भएको पहिलो चरण आज सकिएको छ । लकडाउनको दोस्रो चरणलाई अझ संवेदनशील रुपमा हेरिरहेको अवस्था छ । तसर्थ यो चरणमा अझ बढी सजग, सचेत र सावधान रहनुपर्ने छ । लकडाउन गरिएको तपाईं हाम्रै सुरक्षा र थप सावधानीका लागि हो । यो बेलामा घरमै बस्ने, भीडभाडमा नजाने, आफु सुरक्षित रहेर आम नागरिकलाई सुरक्षित रहनुतर्फ सतर्कता अपनाउने कार्यमा जुट्न आग्रह गरिन्छ ।  
२. बिदेशबाट आएकाहरुको पहिचान गरी स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राखेर महामारी विरुद्धको यो युद्धमा अब्बल दर्जाको सिपाहीको भूमिका निर्वाह गर्न आम कार्यकर्तालाई निर्देशन जारी गरिएको छ ।
३. कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहने लगायतका सतर्कताका तरिकाहरु अपनाउने । परिवार, छरछिमेकी तथा आम जनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने । 
४. उच्च जोखिमको यो अवस्थामा पूर्व सावधानीका सम्पूर्ण उपाय अवलम्बन गर्न आमनागरिक समुदायमा हार्दिक अपिल गर्दछौं । सरकारद्वारा अगाडी सारेका सम्पूर्ण निर्णय र कार्यक्रमहरुको पूर्ण पालना गरी आफु सुरक्षित रही आम नागरिकलाई समेत सुरक्षित राख्ने वातावरण तयार गर्न र सरकारी निर्णयको कार्यान्वयनमा सहयोग पु¥याउन पार्टी जिल्ला कमिटी र मातहतमा सम्पूर्ण कमरेडहरुलाई हार्दिक आह्वान गर्दछौं । 
५. मानव सभ्यता र आधुनिक विज्ञानलाई समेत चुनौति दिइरहेको कोरोना भाइरसको संक्रमणबाट आम नागरिकलाई जोगाउनु अहिले सरकार र हामी सबैको प्राथमिक दायित्व हो । त्यसैले यो विषम परिस्थितिमा जनस्वास्थ्य र जनजीविकाका पक्षमा संवेदनशील भइ पर्याप्त सुरक्षा सामग्री र आवस्यक उपकरण सहित चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्न, भेन्टीलेटर सहितको आइसीयू कोरोना विशेष अस्पताल सञ्चालन गर्न, प्रत्येक जिल्लामा आवश्यक किट सहित कोरोना टेष्ट ल्याबको स्थापना गर्न जरुरी देखिएको छ । यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्दछौं । 
५. दैनिक ज्यालादारी तथा श्रममा जीवन निर्वाह गर्ने श्रमजीवी वर्ग र गरिबीको रेखामुनी रहेका नागरिकलाई लकडाउन अवधीभर न्यूनतम जीवनयापनको व्यवस्था मिलाउने कामलाई अझ प्रभावकारी बनाउनुपर्ने छ । ज्यालादारी मजदुरको डाटा संकलन गर्न, आवश्यक राहतको सूची बनाउन र स्थानीय पालिकाका जनप्रतिनिधिसंग समन्वय गरेर आवश्यक परेका खण्डमा स्वयंसेवकका रुपमा खट्न कार्यकर्तालाई निर्देशन गर्दछौं । 
६. दैनिक अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपुर्तीको व्यवस्थाका साथै कालोबजारी नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि वढाउन नेपाल सरकार समक्ष पार्टीको तर्फबाट जोडदार माग गर्दछौं । 
७. अहिलेको यो परिस्थितिलाई सकेसम्म सहज बनाउनेतर्फ तीनै तहका सरकार र राज्यका सबै संयन्त्रहरु केन्द्रित भएको अवस्था छ । यो संवेदनशील बेलामा आम नागरिक अझ जिम्मेवार बन्नुपर्ने छ ।
८. जिल्ला कमिटीका सबै कमरेडहरु, दुबै तहका निर्वाचन क्षेत्रीय कमिटी तथा सबै पालिकाका जिम्मेवार कमरेडहरु परिस्थितिलाई सक्दो सहज बनाउने काममा केन्द्रित हुनुहोस् भन्ने पार्टीको निर्देशन छ । 
९. यस्तो परिस्थितिमा निरन्तर काममा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई पार्टीका तर्फबाट आभार प्रकट गर्दै अझ दृढताका साथ काममा खट्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।       
९. राहत र उद्धारका काममा  तयार रहन राजनीतिक दल, उद्योगी, व्यवसायी, संघसंस्था र प्रतिष्ठानलाई विनम्र अनुरोध गर्दछौं ।   
हामी आफू कोरोना भाईरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौं । त्यसर्थ, हाम्रो पार्टी कोरोना भाईरसद्वारा सीर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवम् सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपङ्क्तिलाई निर्देशित गर्दछ । साथै अनावश्यक भ्रम फैलाउने, नचाहिने हल्ला चलाउने र सरकारका व्यवस्थित कामलाई अतिरञ्जना पूर्ण  तरिकाले भ्रम फैलाउने तत्व सक्रिय छ । त्यसप्रति सचेत र सजग बनेर विपद्को पूर्वतयारीमा केन्द्रित रहन अनुरोध गर्दछौं । सिङ्गो पार्टी कमिटी, पार्टीका आदरणीय नेताहरुले नेतृत्व गरेका सरकारले उदाहरणीय काम गरिरहेका छन् । यसर्थ गलत र भ्रामक प्रचारबाजीका आधारमा आफ्नो धारणा नबनाउन पनि अनुरोध गर्दछौं । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top