राजनीति

नेकपा बुटवलद्धारा कोरोनाको रोकथाम तथा नियन्त्रणमा उच्च सर्तकता अपनाउन आग्रह 

चैत्र १४, 2076    बुटवल पोस्ट

बुटवल, चैत्र १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले विश्वव्यापी रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरसको संक्रमण र नियन्त्रणका सन्दर्भमा बुटवल उपमहानगरपालिकाले अगाडी सारेका कार्यक्रमहरुलाई आफु रहेको वडा तथा टोलमा कार्यान्वयन गर्न गराउन सबै नेता कार्यकर्तालाई आग्रह गरेको छ । 

कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि लकडाउन भएकाले बुटवल उपमहानगरभित्र रहेका अति विपन्न तथा दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका मजदुरका परिवारहरुको लागि नगरपालिकाले राहतको ब्यवस्था गर्ने हुँदा त्यस्ता मजदुर परिवारको पहिचान गरी लगत संकलन गर्ने काममा टोल विकास संस्था तथा वडा सरकारलाई आवश्यक सहयोग गर्न आम कार्यकर्तालाई निर्देशन गरिएको नेकपा बुटवल उपमहागर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बताउनुभएको छ । 

अध्यक्ष पन्थीले खाद्यान्न संकट र भोकमरी आउन नदिनका लागि सरकारले गरेका पूर्व तयारीका विषयमा आम जनसमुदायलाई जानकारी गराउने, बुटवल कोरोना अस्पताल र क्वारेन्टाइनका सम्बन्धमा आफु रहेको वडा र टोलमा विशेष जानकारी गराउन आग्रह गरिएको बताउनुभएको हो ।  

अध्यक्ष पन्थीले हरेक शाखा कमिटीले आफ्नो वडामा बाहिरबाट आउने ब्यक्तिहरुको पहिचान गर्ने, टोल टोलमा विरामी भए नभएको ख्याल गर्ने, दैनिक उपभोग्य समानहरु सहज रुपमा पाए नपाएको लगायतका विषयमा जानकारी लिने, कुनै समस्या भएमा तत्काल नगर कार्यालयमा जानकारी गराउने र आम जनताको अभिभावक बन्ने गरी काम गर्न शाखा कमिटीलाई निर्देशन गरिएको बताउनुभएको छ । 

अध्यक्ष पन्थीले अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्कन आग्रह गर्दै लकडाउनको पूर्ण पालना गर्नका लागि आम जनसमुदायलाई विशेष अपिल समेत गर्नुभएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top