राजनीति

मुख्यमन्त्रीद्धारा शहीद दिवसको शुभकामना

माघ १६, 2076    बुटवल पोस्ट

बुटवल, माघ १६ । प्रदेश नं. ५ का मुख्यमन्त्री मानननीय शंकर पोखरेलले सहि दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सहिदहरुको सम्झनामा जारी गरेको शुभकामना वक्तब्य यस प्रकार रहेको छ । 

एकतन्त्रीय जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाको लागि अमर शहीदले प्राणको आहुति दिएका हुन् । प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात—अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शहिदले देखाएको न्यायपूर्ण समाज निर्माणको बाटोमा अविचलित ढंगले लाग्न प्रतिबद्ध रहदै हामी सबैको सक्रिय सहभागिता हुने विश्वास लिएको छु । अन्याय र अत्याचारको अन्त्य र न्याय, स्वतन्त्रता र समतामुलक समाज निमार्णको लागि ज्यानको आहुती दिने शहीदकै योगदानले नेपालका तीन ठूला राजनैतिक परिवर्तन संभव भएका हुन् । २००७ सालको जनक्रान्तिबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भयो । प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा स्थापना गरिएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भयो । २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र संभव भएको हो । यी सबै राजनैतिक संघर्षमा ज्यानको आहुति दिने वीर शहीद अमर छन् । संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको छ । संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गरेको छ । संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्छ । बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्छ । विकास र समृद्धि मार्फत राज्यलाई बलियो बनाउने र नागरिकका सपना पूरा गर्न दृढ छौ । यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

शंकर पोखरेल

मुख्यमन्त्री

मिति २०७५ माघ १६

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top