राजनीति

राष्ट्रियसभाका लागि सातै प्रदेशबाट ४५ जना, प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

पौष २१, 2076    बुटवल पोस्ट

माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६ दलले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु छन् ।

नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएको छ । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ भने अन्य ठाउँमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

सातवटा प्रदेशमा गरी महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदका लागि निर्वाचन हुँदैछ ।

त्यसमध्ये महिला समूहतर्फ १६, दलित समूहतर्फ.५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रदेश ५ मा ९ जनाको उम्मेदवारी 

प्रदेश ५ बाट महिला समूहमा नेकपाकी बिमला घिमिरे र काँग्रेसकी गिरिजादेवी न्यौपानेले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहबाट नेकपाका जगप्रसाद शर्मा, काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघलले मनोनयनपत्र दर्ता गराएका छन् ।

अन्य समूहतर्फको नेकपाका गोपाल भट्टराई, काँग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top