समाज

प्रदेश ५ मा नेपाल भ्रमण वर्षको सुरुवात बर्दियाबाट गरिने 

पौष १३, 2076    बुटवल पोस्ट

बुटवल, पौष १३ । प्रदेश नं. ५ मा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट हुने भएको छ । ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका २०२० को जनवरी १ तारिख अर्थात पौष १६ गते बुधवार बिहान ११ बजे प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलबाट उद्घाटन हुने गरी तयारी भएको प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बताउनुभएको छ । 

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनको लागि बर्दियामा तिव्र रुपमा तयारी भएको बताउनुभएको थियो । 

मन्त्री गिरीले प्रदेश मन्त्रालयको सहयोग र बाँके होटल एशोसियसनको आयोजनामा मंगलबार राती भ्रमण वर्षको स्वागत गर्ने र २०२० जना भारतीय पर्यटक नेपाल ल्याउने कार्यक्र रहेको समेत बताउनुभएको थियो । 

भ्रमण वर्षको उद्घाटन समारोहमा झाँकी सहित विभिन्न जिल्लाका साँस्कृतिक कार्यक्रमको आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, बाँके र बर्दिया जिल्लाका माननीयहरु, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिहरु, स्थानीय तहका प्रमुखहरु र विभिन्न सरोकारवाला संघसंस्थाहरु लगायत सबैलाई निमन्त्रणा गरिएको पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं प्रदेश सरकारका मन्त्री गिरीले जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा पर्यटन प्रवद्र्धन समितिका संयोजक एवं मन्त्री लिला गिरीको अध्यक्षता तथा सहसंयोजक माधव नेपालको स्वागत र मन्त्रालयका अधिकृत टंक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top