शिक्षा

रुपन्देही–२ बाट निर्वाचित विष्णु पौडेलद्धारा शत प्रतिशत नै शिक्षामा लगानी 

मंसिर २०, 2076    बुटवल पोस्ट

बुटवल, मंसिर २० । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफ्नो मातहतमा रहेको आर्थिक वर्ष २०७६÷०७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको शतप्रतिशत अर्थात ६ करोड रुपैया शिक्षामा लगानी गर्नुभएको छ । 

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्ने निर्णय गरेको हो ।

समितिमा उक्त क्षेत्रमा रहनुभएका प्रतिनिधिसभाका समानुपातिक सदस्यहरु,  राष्ट्रियसभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख र अध्यक्ष सदस्य रहने व्यवस्था छ । 
प्रत्यक्ष निर्वाचित सांसद पौडेलले धेरैतिर कनिका जस्तो रकम छर्नुभन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न मद्दत पुगोस् भनेर परिणाम निस्किने गरी शिक्षा क्षेत्रमा सबै रकम विनियोजन गरिएको बताउनुभएको छ । 

बिनियोजित रकम तिलोत्तमा–६ मा रहेको पश्चिम पाहुनी मावि, तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक कदरबहादुर रीता मावि, सिद्धेश्वर लालकुमारी मावि, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण, बुटवल–११ को नहरपुर मावि, बुटवल–१२ को सरस्वती मावि र बुटवल–८ मा रहेको जनता माविलाई ५०÷५० लाख रूपैयाँ रकम विनियोजन गरिएको छ भने  सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाखका साथै पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख बिनियोजन गरिएको छ । 

यस क्षेत्रबाट निर्वाचित पौडेलले आफ्नो निर्वाचन क्षेत्र सहित समग्र रुपन्देहीमा  शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आयोजनाहरु निर्माण कार्यमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top