राजनीति

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेद्वार : कास्की-२ मा विद्या भट्टराई, धरानमा प्रकाश राई

कार्तिक १७, 2076    बुटवल पोस्ट

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर १४ गते हुने विभिन्न तहका उपनिर्वाचनमा उठ्ने पार्टीका उम्मेदवार छानेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयले बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र उपमहानगरपालिका मेयरका उम्मेद्वार टुंगो लगाएको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कास्की २ बाट प्रतिनिधि सभामा विद्या भट्टराई उम्मेदवार बन्ने भएकी छन्। उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्।

अधिकारी २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट विजयी भएका थिए। मन्त्री रहेका अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

नेकपाले दाङको प्रदेश सभामा विमला वलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। दाङको ३ (ख)मा प्रदेश सभा उपनिर्वाचन हुँदैछ।

त्यस्तै भक्तपुरको १ (क) मा देवीप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन्।

प्रवक्ता श्रेष्ठले बाग्लुङ २ (ख) को प्रदेश सभामा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय भएको जानकारी दिए।

धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ।

बाँकी रहेका गाउँपालिका र वडा तहका उम्मेद्वारको टुंगो पार्टीको प्रदेश कमिटीले लगाउने श्रेष्ठले जानकारी दिए।  

सरकारले प्रदेश प्रमुख हटाएकोबारे राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने- यो सरकारको क्षेत्राधिकारको कुरा हो। संविधानको व्यवस्थाअनुसार सरकारले हटाएको हो। नयाँ पनि छिट्टै नियुक्त गर्छ होला।

नेकपाको सचिवालय बैठक सकिएसँगै अब प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक बस्दैछ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top