समाज

रौतहट बम विस्फोट काण्ड : न्यायको अन्तहीन पर्खाइ

कार्तिक २, 2076    बुटवल पोस्ट

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर उत्तर छिरेपछि आउँछ सरुअठा गाउँ । मूलबाटोबाट करिब एक किलोमिटर पूर्व पसेपछि ७९ वर्षीय श्रीनारायण सिंहको घर पुगिन्छ । उमेरको उत्तरार्द्धमा श्रीनारायणसँग सुनाउनुपर्ने विगतका यादभन्दा रातोदिन बल्झिरहने दुःखको घाउ मात्रै छ ।

उनको दुःखका कथा साविकको राजपुर फरहदवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ मा घटेको अकल्पनीय घटनाबाट सुरु हुन्छ । फिल्मको झल्को आउने त्यो घटनाको केन्द्रमा जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले भर्खरै पक्राउ गरेको छ । आलम पक्राउपछि श्रीनारायणलाई फेरि पुरानो दुःख, छोरा गुमाएपछिका छटपटीका दिन र न्यायका निम्ति १२ वर्ष लामो संघर्षको कथा सुनाउने मेसो मिलेको छ ।

पहिलो संविधानसभा निर्वाचनको चहलपहलले देहाती गाउँको चहलपहल ह्वात्तै बढाइदिएको थियो । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट उम्मेदवार मोहम्मद आफताब आलमको चहलपहल पनि गरमागरम थियो । सीमावर्ती भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा बीएस्सी पहिलो वर्षमा पढिरहेका श्रीनारायणका २२ वर्षीय छोरा त्रिलोक बिदामा घर आएका थिए ।

राम्रो बोल्ने खुबी भएका उनलाई आलमको चुनावी प्रचारमा खटिएकाहरूले घरबाट हिँडाइहाले । त्यो दिनको सम्झना श्रीनारायणलाई झलझली छ । चुनावको २ साताअघि १८ चैतमै आलमका मान्छे आएर छोरालाई घरबाट लगिएको थियो । उनले सुनाए, ‘छोरालाई चुनावी प्रचारमा लिएर गएछन् भन्ने थाहा पाएपछि नै मेरो मन थिरमा थिएन ।’

श्रीनारायणलाई बम विस्फोटको घटनाभन्दा विस्फोटपछि भएका घटना लुकाउन भएका आततायी गतिविधिले मन भतभती पोलेको छ । उनले घटनाका प्रत्यक्षदर्शी र अन्य गाउँलेबाट थाहा पाए, चुनावको दिन बुथ कब्जा गर्ने उद्देश्यले आलमको सहोदर काका एवं कांग्रेस नेता पूर्वमन्त्री शेख इद्रिसको फरहदवा राजपुरस्थित गोठमा बम बनाउने काम चलिरहेको थियो ।

प्रहरीका अनुसार आलमका अंगरक्षकको काम गर्ने बलरु भन्ने शेख सराजले सल्काएको चुरोट हातबाट खसेलगत्तै ठूलो आवाजमा धूवाँको मुस्लोसहित बम विस्फोट भएको थियो । प्रहरीका अनुसार घटनापछि सराज सार्वजनिक वृत्तमा देखिएका छैनन् ।

घटनाको प्रत्यक्षदर्शी रहेका फरहदवा गाउँका ५ जनासँग गरेको कुराकानीअनुसार विस्फोट लगत्तै रुक्साना खातुनका छोरा ओसी अख्तर र श्रीनारायणका छोरा त्रिलोक सामान्य घाइते भएका थिए । अन्य केही मरणासन्न हुने गरी घाइते भए र केहीको तत्कालै मृत्यु भयो । घटनामा ठ्याक्कै कति जनाको मृत्यु भयो र कति जना घाइतेलाई पोल खुल्ने डरले मारियो भन्ने खुल्दैन । घटनाको अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले पनि घटनामा ठ्याक्कै कति जना मारिए भन्ने यकिन भइनसकेको बताए ।

श्रीनारायणले सुनेअनुसार छोरा त्रिलोकलाई खुट्टामा सामान्य चोट मात्रै लागेको थियो । उनले घटनामा २२ जनाजति परेको, बाँचेकाहरूलाई पनि बेहोस हुने इन्जेक्सन दिएर बोरामा हालिएको र राति नै गोठदेखि करिब दुई किलोमिटरको दूरीमा रहेको इँटाभट्टामा हालेर मारिएको दाबी गरे ।

घटनाका पाँचै प्रत्यक्षदर्शीले घटनामा मारिएका मानिसबारे फरक फरक संख्या सुनाए पनि उनीहरूको भनाइमा समानता के देखिन्छ भने घटनाको पोल खुल्ने डरले घाइतेहरूलाई समेत समातेर इँटाभट्टामा हालेर बर्बरतापूर्वक मारिएको थियो ।

केही प्रत्यक्षदर्शीले सामान्य घाइतेलाई बेहोस हुने इन्जेक्सन दिएको बताए भने केहीले विष घोलेको पानी खुवाइएको सुनाए । उनीहरूले त्यसको पुष्टि हुने आधार भने सुनाउन सकेनन् । नेता आलमका जेठो छोरा नेपाल प्रहरीको अस्पतालमा कार्यरत डाक्टर रहेको र परिवारका अन्य सदस्य पनि चिकित्साशास्त्र पढिरहेकाले उनीहरूले घाइतेलाई मार्न इन्जेक्सन प्रयोग गरिएको आकलन प्रत्यक्षदर्शीको छ ।

त्यसो त कैयन् स्थानीय मानिस प्रमाण बिनाका यस्ता अनेकन तथ्यहरूमाथि विश्वास गर्छन् । घटनाको पछिल्लो अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीले भने विस्फोटपछि घाइतेहरूलाई पोल खुल्ने भन्दै क्रूरतापूर्वक मारिएको सत्य भए पनि कसरी मारियो र त्यसमा प्रत्यक्ष को को संग्लन थिए भन्नेबारे अनुसन्धान जारी रहेको सुनाए ।

समसुल मियाँ घटनामा मारिएका ओसीको ससुरा हुन् । सरुअठास्थित घरमा उनी ज्वाइँ मारिएपछि बेसहारा बनेका छोरी र दुई नातिसहित परिवारको जिम्मेवारी सम्हालेर बसिरहेका छन् । सर्लाहीको लालबन्दी बसेर काठमाडौंमा तरकारी पठाउने काम गर्दै आएका उनी घटनाको दिन मात्रै आफ्नो घर आएका थिए ।

गाडी राम्ररी नचेकाले उनले बिहानै फोन गरेर छोरीलाई भनेका थिए, ‘म चन्द्रनिगापुरसम्म आउँछु । ज्वाइँलाई मोटरसाइकलमा लिन पठाइदिनू ।’ तर वैदेशिक रोजगारीका क्रममा दुबईबाट केही महिनाअघि मात्रै छुट्टीमा घर आएका ज्वाइँ छोरीको कुरै नसुनी आलमको चुनावी प्रचारमा हिँडिसकेका थिए ।

चुनाबको अघिल्लो साँझ समसुल घरमै बसिरहेका थिए । साँझपख एक्कासि ठूलो विस्फोटको आवाज आयो । उनले मूलबाटोतिर निस्केर घटनास्थल फरहदवा गाउँतिर नियाले । मान्छेहरू खेतखेतै कुदिरहेका थिए । के कसो भएछ भनेर उनी दर्गुर्दै त्यतैतिर लागे । उनी पुग्दा साँझ झमक्कै ढल्किसकेको थियो । उनले थाह पाइहाले, धमकेदार बम विस्फोट भएछ । विस्फोट भएको ठाउँतिर छिर्नै नसक्ने गरी मान्छेहरूले घेरिरहेका थिए । त्यहाँ केही प्रहरी पनि थिए । तर तिनीहरू को को थिए र कुन कुन दर्जाका थिए भन्ने उनलाई पत्तो भएन । समसुलले सुनाए, ‘घटनास्थलतिर जान लागेका मान्छेलाई हर्कार्दै धपाउँथे । डराएर म छेवैको गहंँबारीभीत्र लुकेँ ।’

कान्तिपुरसँगको कुराकानीमा समसुलले गहुँबारीभित्र लुकेर बस्दा आफूले देखेको कुरा सुनाए । उनले भने, ‘घाइते र मरेका सबैलाई बोराभित्र हाल्दै मुख बाँधेर ट्र्याक्टरमा हालेर लगे ।’ उनले चालचुल नगरी गहुँबारीमै बसेर सबै दृश्य नियाले । उनका अनुसार घटनास्थलमा प्रहरीको गाडी पनि पुगेको थियो, प्रहरीले नै घटना सामसुम पार्न सहयोग गरिरहेको देखिन्थ्यो । उनले दाबी गरे, ‘सशस्त्रका एसपी कृष्ण लामा’नि त्यही थिए ।’

समसुल र कान्तिपुरसँग सम्पर्कमा आएका अन्य प्रत्यक्षदर्शी र गाउँलेको भनाइबाट विस्फोटलगत्तै केही प्रहरी घटनास्थल पुगेको र उनीहरूले घटना लुकाउने भूमिका निर्वाह गरेको बुझिन्छ । घटनास्थलबाट मुस्किलले डेढ किलोमिटर दूरीमा इलाका प्रहरी कार्यालय राजपुर छ । घटनाका बेला सई ईश्वरविक्रम शाहको नेतृत्वको टोली त्यहाँ थियो ।

समसुलले पनि श्रीनारायणले जस्तै घाइते ज्वाइँलाई इन्जेक्सन लगाइएको सुनाए तर त्यसलाई पुष्टि हुने आधार सुनाउन सकेनन् । ‘बोराभित्र हालिएका लासलाई ट्र्याक्टरमा राखेर इँटाभट्टातिर लगेका थिए । पछि सबैलाई भट्टामै हालेर पोलिदिए,’ समसुलले सुनाए । उनले पनि घटनामा १७/१८ जना मान्छे मरेको दाबी सुनाए । समसुलले मध्यरातमा आफू गहुँबारीबाट लुक्दै लुक्दै साबिक लौकाह गाविसतिर पुगेको र भोलिपल्ट बिहान मात्रै घर फर्केको सुनाए ।

सबैले सुनाएको घटना विवरणको सबैभन्दा बलियो तादाम्यता भनेको घाइतेलाई पनि मारिएको, बोरामा हालेर इँटाभट्टामा लगेर पोलिएको भन्ने तथ्य नै हो ।

आलमका भान्जा मुस्ताक राजाको ‘राजा इँट्टाभट्टा’ मा त्यो रात अबेरसम्मै चहलपहल देखेको अधिकांश प्रत्यक्षदर्शीले कान्तिपुरलाई बताए । ६४ वर्षीय रामबहादुर साहको घर शेख इद्रिसको गोठबाट केही सय मिटरको दूरीमै पर्छ । साँझ अबेरतिर विस्फोट हुँदा उनी गोठमा गोरु बाँध्दै थिए । कालो मुस्लो सहित कानै थर्किने विस्फोटको आवाज आएपछि उनले ठाने, अहो कसको घरमा आगलागी भएछ १ उनी बाल्टिनभरि पानी बोकेर दगुर्दै घटनास्थिलतिर दगुरे । तर घटनास्थल घेरेर बसेका आलमका मान्छेले ‘तुम लोग भागो यहासे, तुम लोगका काम नही हे’ भन्दै उनलाई त्यहाँ छिर्न दिएनन् ।

रामबहादुरले घटनास्थल पुग्दा आफूले १०/१२ जना मान्छे भुइँमा सुताएको, केही छटपटाइरहेको र केही मरेजस्तो देखेको सुनाए । उनले केही मान्छेले छटपटाइरहेकाहरूलाई बोराभित्र कोचिरहेको पनि आफूले देखेको दाबी गरे । आलमका मान्छेहरूले चर्को चर्को स्वरमा खेद्न थालेपछि रामबहादुर डराउँदै घर फर्के । तर उनको आँखा गोठतिर एकोहोरिएको थियो । उनका अनुसार राति अबेरसम्म पनि उनकै घर अगाडिको बाटो हँॅदै घटनास्थलतिर प्रहरीहरू गइरहेका थिए । समसुल र श्रीनारायणले जस्तै उनले पनि बोरामा हालिएका शवलाई ट्याक्टरमा राखेर इँटाभट्टातिर लगिएको बताए ।

रामबहादुर घटनाको भोलिपल्ट अबेरतिर गोठछेउ पुगेका थिए । त्यतिबेला केही मान्छेले धमाधम चर्केको र ठाउँठाउँमा भत्केको गोठ बनाइरहेका थिए । कोहीले भ्वाङ परेको छानामा खपटा हालिरहेका थिए, कसैले बाँस चिरेर भित्ताको चर टालिरहेका थिए । उनका अनुसार खपटा हाल्ने बेला कामदारहरूले एउटा कुइनोमुनिको हात भेटेका थिए । रामबहादुरका अनुसार विस्फोटपछिका भएका सबै क्षतिको प्रमाण लुकाउन आलमका मान्छेहरू खटिएका थिए । तीमध्ये धेरैजसो सीमावर्ती भारतका इँटाभट्टामा काम गर्ने र आलमलाई सघाउने भारतीयहरू थिए ।

अम्बुकुमार यादव त्यति बेला १६ वर्ष जतिका थिए । उनी विस्फोट हुँदा गोठनजिकै थिए । उनले बीभत्स घटना र त्यसपछि गाउँमा भएका अनेकन अडकलबाजी बिर्सन सकेका छैनन् । उनले विस्फोटपछि उछिट्टिएका मासुका टुक्रा छरछिमेकसम्म पुगेको भन्ने कुरा अरूबाट सुनेको बताए ।

रामबहादुरका अनुसार मान्छे पोलिएको इँटाभट्टा घटनापछिका चार दिनसम्म बन्द रहेको थियो । अहिले उक्त इँटाभट्टा रहेको ठाउँमा धानबारी छ । स्थानीयका अनुसार करिब दुई वर्ष पहिले उक्त इँटाभट्टालाई त्यहाँबाट केही पर सारिएको हो । घटनास्थल फरहदवा गाउँबाट करिब ८ किलोमिटरमा सीमावर्ती भारतको कुडुवा चैनपुर पुगिन्छ । गाउँ नजिकका धेरैजसो इँटाभट्टामा भारतीय कामदारकै वर्चस्व रहन्छ । घटनाका कैयन् प्रत्यक्षदर्शी त्यही भट्टामा काम गर्ने भारतीय कामदार भएको र घटनापछि डरले सबैजसो भारत फर्किएको एक स्थानीयले बताए ।

घटनामा ठ्याक्कै कति घाइते भए, कति तत्कालै मारिए र कतिलाई पछि आलमका मान्छेले मारे भन्नेबारे ठ्याक्कै बताउन सक्ने कोही छैन । झन्डै १२ वर्षपछि घटनाको अनुसन्धान थालेको जिप्रका रौतहटले सोही विस्फोटमा घाइते भई ज्यान जोगाउँदै भागेका एक जना पीडितलाई अनुसन्धानको घेरामा राखेको छ ।

प्रहरी स्रोतका अनुसार ५९ वर्षीय सफी अहमद नामक ती घाइतेले विस्फोटका बेला आफ्नो पेटमा गम्भीर चोट लागेको र आन्द्रा बाहिर निस्केको बताएका छन् । कान्तिपुरलाई प्राप्त सफीको भिडियो क्लिपमा उनको पेटमा ठूलो चोटको दाग देखिन्छ । स्रोतका अनुसार घटनापछि घाइते सफी आफूलाई पनि मारिने भएपछि गहुँबारी हुँदै भागेर सीमावर्ती भारतको मोतीहारी पुगेका थिए ।

गाईभैंसीको कारोबार गर्ने एक जना भारतीयले उपचार गर्न सघाएको र मोतीहारीकै तैयब नर्सिङ होममा आफूले झन्डै ६ महिनासम्म उपचार गराएको सफीले बताएका छन् । आफू मारिने भयले लामो समयसम्म मोतीहारी नै बसेका उनी केही वर्षअघि सर्लाहीस्थित घर फर्केका थिए । कान्तिपुरले प्राप्त गरेको भिडियो क्लिपमा उनले घटनाका बेला थुप्रै घाइते भएको बताए पनि यकिन संख्या भनेका छैनन् ।

वर्षौंसम्म शक्ति केन्द्रको प्रभावमा परेर अनुसन्धान अगाडि नबढेको यो घटना सर्वोच्चको निर्देशन र फैसला कार्यान्वयन निर्देशनालयको तारन्तारको ताकेतापछि बल्ल अनुसन्धान अगाडि बढेको छ ।

२०७६ जेठ १४ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिप्रका रौतहटलाई घटनाको अनुसन्धान गर्ने निर्देशन दिएको थियो । निर्देशनको ५ नम्बर बुँदामा भनिएको छ, ‘राजकुमार शाह कानु, राजन भन्ने सत्यन्द्र सिंह, सफिक अहमद, सुकराती शाह तेली र हैदर अलीसमेत सोही घटना वारदातपश्चात् बेपत्ता भएको भन्ने देखिँदा निजहरूको सम्बन्धमा पनि अनुसन्धान गर्ने ।’

जिप्रकामा कार्यरत एक प्रहरी अधिकारीले सरकारी वकिलको निर्देशन र घटनाका प्रत्यक्षदर्शीहरूको प्रारम्भिक बयानले त्रिलोक र ओसीका अलवा अन्य पनि मारिएको हुन सक्ने भनाइलाई बल पुर्‍याउने बताए ।

स्राेत : कान्तिपुर 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top