राजनीति

के पी अाेली, र गाेलघरका कष्टकर यातानाकाे सम्झना

भाद्र ७, 2076    बुटवल पोस्ट

ती दिन ज्यादै कठिन थिए । विसं। २०३० मंसिर ११ गते मोहनचन्द्र अधिकारी र म जेलको पनि महाजेल गोलघरमा हालियौँ । गोलघर काठमाडौं केन्द्रीय कारागारको बीचमा छ । त्यहाँ नौवटा स–साना कोठा र एउटा फलामको पिँजरा छ । अरू बन्दीबाट अलग्याएर एकान्तबासको सजाय दिइने ठाउँ भएकाले प्रत्येक कोठामा एक जनालाई मात्र त्यहाँ थुनिन्छ ।
फलामका ठुल्ठूला चारपाटे डन्डीले घेरिएको, भुइँ र छानो बाक्ला फलामका पाताहरू भएको त्यस पिँजराको आकार नै यति सानो हुन्छ कि एक जनाभन्दा बढी थुन्न सकिने हुँदैन । चौडाइ डेढ फिटजति, उचाइ र लम्बाइ साढे तीन फिटजति भएको त्यस पिँजरामा थुनिनेले कहिल्यै पनि उभिन र खुट्टा पसार्न पाउँदैनन । हामी गोलघरमा हालिँदा पूर्णबहादुर कुमाल पिँजरामा रहेछन ।
उनी ज्यान मुद्दामा परेका र पागल भएर जेलमै दुईजना बन्दीहरूको हत्या गरेर पिँजरामा थुनिएका रहेछन । जेलको नियम र प्रचलनअनुसार, जेलभित्र कसैले ज्यान मारेमा उसलाई गोलघरमा थुनेर सजाय दिइन्छ र गोलघरमा बसेर कसैको ज्यान मारे उसलाई पिँजराबासको सजाय दिइन्छ । जेलमा कुनै बन्दी पागल भयो भने उसलाई पनि अरू बन्दीहरूको सुरक्षार्थ गोलघरमा थुनिन्छ ।
जेलभित्र त्यहाँको हिसाबले कुनै गम्भीर अपराध मानिने काम गरेमा पनि गोलघरमा थुनिने गरिँदो रहेछ । तर, मोहनचन्द्र अधिकारी र मलाई गोलघरमा हालेका वेला भने त्यहाँबाट सबै पागलमध्ये दुईजना अलिक होसमा रहेको ठहरिएका र अलि कम पागललाई बाहिर निकालेर हामी दुईजनाका लागि ठाउँ खाली गरिएको रहेछ ।
पहिले गोलघरमा म पुर्याइएँ । त्यसभन्दा अघि गोलघरका बारेमा सुनिएको थियो । तर, कस्तो हुन्छ भन्ने जानकारी थिएन । मलाई भद्रगोल जेलबाट सेन्ट्रल जेल सार्ने भनी त्यहाँ ल्याएका थिए । त्यहाँ आएपछि थाहा भयो, गोलघर हाल्न ल्याएका रहेछन । मलाई त्यहाँ हुल्ने नाइके कामदारहरू कोही पनि मैले चिनेका मान्छे हुने कुरै थिएन र तीमध्ये कोही पनि मसँग मैत्रीपूर्ण देखिँदैनथे ।
गोलघरमा पस्नेबित्तिकै म आश्चर्यचकित भएँ । त्यस्ता ठाउँमा र त्यसरी पनि मान्छे थुनिन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ । सानो गोलघरको कुनामा खुला पाइखाना १ ढोकाबाट पस्नेबित्तिकै दुर्गन्धले बान्ता आउन खोज्यो । तर, अनिश्चित लामो कालसम्मका लागि त्यहीँ बस्नु थियो । म त्यहीँ छिराइएँ । पिँजरा र अरू कोठामा थुनिएका आठजना पागलहरूले म त्यहाँ लगिँदा आ–आफ्नो पाराले मेरो स्वागत गरे– कसैले अश्लील गाली गरेर, कसैले आफूले गरेको दिसाको झट्टी हानेर ।
ढोकाछेवैको कोठाका मीनराज पाण्डे भन्ने रहेछन । उनी विनामुद्दा, पागल भएकाले परिवारको आग्रहमा सुरक्षार्थ त्यहाँ थुनिएका थिए । उनले भने मलाई छुट्टै पाराले स्वागत गरे । एकतमासको जोसमा उनी ठूलो स्वर निकालेर कराए, ‘जोन्सन्स् वार केनेडिज वार, कर्णाली आन्द्रेई ग्रोमिक हो । थ्यांक्स् भुट्टो, यू ह्याभ एलाउड थाई एयरलाइन्स् टु कम टु अस भाया ढाका ।
कामदारी खुट्टो समात, पानी तता, यो एकमुठो घाँस हाल्दे ।’ उनले आफ्ना छेवैमा राखेको रायोको सागको मुठा उठाउँदै भने, ‘मार चैँ मै हान्छु, बोकालाई यहाँ मार्न ल्याएको त हो नि १’ यति भन्दै उनी जोडले खिल्खिलाएर हाँसे । उनको त्यो व्यवहार देखेर मलाई भान पर्यो– पागलहरू आफ्नै सुरमा अन्तस्करण ओकल्छन । जेल सार्ने वा गोलघरमा लैजाने निहुँ बनाएर कैदीलाई मार्ने काम भइरहेका थिए, त्यही ओकल्यो ।
भित्ताभरि दिसा पोतिएको, भुइँभरि पनि दिसा छरिएको एउटा कोठा देखाएर मलाई त्यहाँ पस्न भनियो । कोठाको एउटा कुनामा खाल्टो रहेछ । त्यहीँ चर्पी रहेछ । त्यसबाट फोहोर निकालेर भुइँभरि छरिएको रहेछ । मैले, ‘के म यसै कोठामा बस्ने रु’ भनेर सोधेँ । मलाई त्यहाँ पुर्याउने कामदारले अल्छी पारामा भने, ‘हो ।’ मैले कम्तीमा त्यस कोठामा बस्न अस्वीकार गर्दै भनेँ, ‘म यस कोठामा चैँ पस्दिनँ र बस्दिनँ पनि । मान्छे थुन्ने ठाउँ कहीँ यस्तो हुन्छ रु’ उनीहरूले मलाई त्यही कोठामा बस्न कर गरे । तर, हात हालेर बलजफ्ती भने गरेनन ।
मैले उनीहरूका हाकिम र मालिक जो छन, तिनलाई म त्यस कोठामा बस्न नमानेको कुरा जानकारी गराउन भनेँ । उनीहरूमध्ये २–३ जना बाहिर गए । केहीबेरपछि एउटा ठूलो दलबलको नेतृत्व गर्दै एकजना पातलो तर सुकिलो मान्छे त्यहाँ आयो । उनीहरूको सामूहिक नमस्कार र सम्बोधनबाट थाहा पाएँ, त्यो मानिस जेलको भाइ चौकीदार रहेछ ।
उसले बडो ठाँटले भन्यो, ‘के हो, के भयो रु’ उसको बोलीको भाँती जानकारी लिन खोजेको जस्तो थियो । उसलाई कामदारले वृत्तान्त सुनाए । उसले अलिक निर्णयात्मक स्वरमा भन्यो, ‘हेर्नोस, तपाईंलाई गोलघर राख्नु भन्ने आदेश छ, हामी त्यत्ति जान्दछौँ । गोलघर यही हो । अनि तपाईं यहाँ नबसेर कहाँ बस्नुहुन्छ रु’ मैले जवाफ दिएँ, ‘मान्छे थुन्ने ठाउँ पनि यस्तो १ यस कोठामा म बस्दिनँ ।’
उसले केहीबेर गल्फत्ती गरेर अरू कोठाहरू हेर्यो र त्यसपछि भन्यो, ‘ल उहाँलाई यस कोठामा राख्नू, यस कोठाको कैदीलाई त्यसमा सारिदेऊ ।’ त्यसपछि ऊ सरासर बाहिरियो । मैले उसले भनेको कोठा हेरेँ । त्यो अलिक कम फोहोर रहेछ र सार्वजनिक चर्पीभन्दा दुई कोठा परतिर पनि । आखिर उनीहरूले मलाई त्यहाँ राख्छन् नै, म स्पष्ट थिएँ । त्यसपछि म आफ्नो कपडाको सानो कुटुरो काखीमा च्यापेर त्यस कोठामा पसेँ । मलाई थुन्न गएको त्यो हुल फलामे डन्डीहरूले बनेको ढोकामा ताला ठोकेर बाहिर गयो ।
त्यो एउटा छुट्टै संसार थियो । पागलहरू आफ्नै तरंगमा डुबेका हुन्थे । कोही हाँस्थे, कोही रुन्थे । कोही भुत्भुताउँथे भने कोही चर्को आवाजमा कराउँथे, चिच्याउँथे । कहिले कोही रुँदा–रुँदै हाँस्थे भने कहिले हाँस्दा–हाँस्दै, रुन्थे । मोहनचन्द्र र मेरो लागि ठाउँ खाली गर्न दश जनामध्ये दुई जनालाई बाहिर जेलमा निकाले । बाँकी रहेका आठजना पागलमध्ये ज्ञानेश्वरका मीनराज पाण्डे, काभ्रेका केदार उप्रेती र ज्यानमुद्दामा धेरै वर्ष सजाय भोगिसकेका भोजपुरका वीरबहादुर कुमालको पागलपन अलिक बेग्लै प्रकारको थियो ।
उनीहरू फोहोर खेलाउनेसम्मको स्थितिमा भने थिएनन । हाम्रा लागि कोठा ठीक गर्न बाहिर निकालिएका पागलहरूको स्थिति पनि ती तीनजनाको जस्तै–जस्तै रहेछ । तर, हामीलाई थप दुःख दिनका लागि पनि उनीहरू बसेका कोठाहरू नदिएर अवस्था ज्यादै बिग्रेका पागलहरूलाई ती कोठामा सारी हाम्रा निम्ति फोहोर कोठाहरू तयार पारिएका रहेछन ।
गोलघरभित्र पसेपछि म कपडाको कुटुरो बन्द कोठाको एउटा कुनामा राखेर फलामे डन्डीको बार समाती उभिइरहेँ । मन अन्यमनस्क भावले भरिएको थियो । बाहिर गोलघरको आँगन थियो, सामुन्नेका कोठामा थुनुवा पागल र कैदी थिए । म तिनीहरूलाई एकतमासले हेरिरहेको थिएँ । त्यसैवेला गोलघरको बाहिरी ढोका फेरि खुल्यो र एउटा हुल भित्र पस्यो । त्यो हुलले मोहनचन्द्र अधिकारीलाई लिएर आएको रहेछ । गोलघरका पागलमा फेरि अघिजस्तै एउटा नयाँ तरंग आयो ।
शान्त बस्तीमा भुइँचालो आएजसरी एकचोटि जेलको वातावरण जर्याकजुरुक भयो । उनीहरू आ–आफ्नै पारामा केही कराए, तर पहिलेको भन्दा कम । मीनराज पाण्डे भने उत्तिकै उत्साहसाथ उत्तिकै उँचा स्वरले कराए । उनी वेला–वेला बतुराउँदा उही कुरा दोहोर्याउँथे, ‘जोन्सोन्स वार, केनेडिज वार‘।’ पागलहरूको कोलाहल र मीनराज पाण्डेको ‘बोकालाई यहाँ काट्न ल्याएको’ जस्ता कुराले मोहनचन्द्रलाई मनोवैज्ञानिक असर पार्यो । उहाँले मलाई देख्नुभएको थिएन ।
उहाँले गोलघरका कोठातर्फ हेर्न भ्याउनु नै भएको थिएन । मैले उहाँलाई बोलाएँ र पागलहरूका कुरातर्फ ध्यान नदिन भनेँ । उहाँलाई गोलघरको प्रवेशद्वारबाट पस्नेबित्तिकै दाहिनेतर्फको अर्थात् पूर्व लाइनको सबभन्दा दक्षिण कुनाको कोठामा थुनेर उनीहरू बाहिरिए । पश्चिम लाइनको सबभन्दा दक्षिणमा सार्वजनिक खुला चर्पी थियो र त्यो मोहनचन्द्रलाई थुनेको कोठाको सामुन्नेमा पथ्र्यो ।
मोहनचन्द्रलाई थुनेको कोठा गोलघरभरिमा सबभन्दा चिसो, अँध्यारो र साँघुरो थियो । हरेक कोठाका पल्लाछेउमा अलिक कुनातिर पाइखानाका लागि खाल्डा थिए र ती खाल्डाको निकास गोलघरबीचको सानो आँगनको माझमा रहेको ‘सेफ्टी ट्यांक’सम्म थियो । ‘सेफ्टी ट्यांक’का ढकनी राम्ररी बन्द नगरिएकाले पनि तिखो दुर्गन्ध आइरहन्थ्यो ।
गोलघर पस्ने बाहिरी ढोका र भित्री ढोकाको बीचमा त्यसै दिनबाट पालेपहरा राख्ने आदेश भएको रहेछ । त्यसकारण कामदारहरू सुत्न–बस्नका लागि त्यहाँ खाटजस्तो टाँड बनाउने कार्यमा जुटे । प्रवेशद्वारको भित्रपट्टिको ढोकामा ताला लगाइएको थियो । बाहिरी ढोका खुला राखेर उनीहरू काम गर्दै थिए । मोहनचन्द्र र म आपसमा कुरा गर्न थाल्यौँ ।
पागलहरू हामीलाई गाली पनि गर्दै थिए । उनीहरूको गालीले खासगरी हुलमा हामी दुईजना सद्दे भएकोमा उनीहरूमा चिढ थियो भन्ने बुझिन्थ्यो । नाइके कामदारले उनीहरूलाई ‘तँ, तिमी’ भन्थे । तर, हामीलाई उनीहरूले ‘तपाईं’ भनेकोबाट पागलमध्ये धेरैले हामी उनीहरूको कोटीमा पर्दैनौँ भन्ने राम्ररी अनुमान गरेका थिए । पागलमध्ये काभ्रेका केदार उप्रेती, जो गोविन्दनाथ उप्रेतीका भाइ हुन, उनी अर्धपागल वा सिल्लीको अवस्थामा थिए ।
वीरबहादुर कुमाल पनि त्यस्तै–त्यस्तै अवस्थामा थिए । मोहनचन्द्र, मीनराज, वीरबहादुर, केदार र अर्को एकजना पूर्वपट्टिको लाइनमा अथवा मेरो कोठाको अगाडितिर पर्थे । अहिले नाम बिर्सेको एकजना पागल बीचको कोठामा बस्थे र उनको हालत पनि राम्रो थिएन । उनी होसमा थिएनन । उनी अक्सर जोड–जोडले कराउने गर्थे ।
अपराह्नतिर हामी दुवैजनाको ढोका खोल्न कामदार आए र हामीलाई कोठाबाट निकालेर गोलघरको प्रवेशद्वारको भित्री ढोकासम्म ल्याए । बाहिरी ढोकाबाट बाहिरपट्टि त्यसवेला त्यसै जेलमा थुनामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, बोधराज उपाध्याय ९जनकपुर० लगायतका केही मित्र भेट्न आउनुभएको रहेछ । दुई–तीन मिनेट टाढैबाट उहाँहरूसँग देखादेख भयो ।
उहाँहरूले सहानुभूति प्रकट गर्नुभयो र केही अप्ठ्यारो परे आफूहरूलाई खबर पठाउन आग्रह गर्नुभयो । केहीबेरपछि कामदारले हामीलाई बाबुकाजी वासुकलाजीहरूको मेसबाट खाना आउने जानकारी गराए । वासुकलाजी भक्तपुरको हुनुहुन्थ्यो । त्यसको केहीबेरपछि नै हाम्रा ढोका फेरि खोलिए । उही पाराले ओल्लो ढोका वारि र पल्लो ढोका पारि भएर हामीले गंगालाल श्रेष्ठ ९लाल कम्युनिस्ट० काठमाडौं, बाबुकाजी वासुकला भक्तपुर र अरू दुई–तीनजना साथीहरूसँग देखभेट गर्यौं । उहाँहरूले हाम्रा लागि खानाको व्यवस्था आफूहरूले गर्ने र अन्य आवश्यक सहयोग पनि सकेसम्म पुर्याउने बताउनुभयो । यस्तो देखभेट तुरुन्तै, दुई–चार मिनेटमै सिद्धियो ।
मोहनचन्द्र र म ०३० असोज २३ गते रौतहट जिल्लामा पक्राउ परेका थियौँ । पक्राउ पर्दा मोहनचन्द्रले खागीको पाइन्ट–सर्ट र चप्पल लगाउनुभएको थियो भने मैले पातला पाइन्ट–सर्ट र एकजोर पुराना चप्पल लगाएको थिएँ । हाम्रो साथमा भएका झोला, एक–एकवटा लुंगी, एक–एक जोर भित्री कपडा, केही कागजपत्र र कलम रौतहटका तत्कालीन प्रजिअ चन्द्रिकानन्द खरेलले हामीबाट गिरफ्तारीको दुई दिनपछि नै खोसिसकेका थिए ।
मंसिर ३ सम्म रौतहटमा प्रहरी हिरासतमा हामीलाई निर्मम यातनासाथ चिसो भुइँमा थुनेका थिए । त्यसवेला मसँग भएको बीस रुपैयाँ खर्च भइसकेको थियो । मंसिर ४ गते वीरगन्ज जेलमा हालेर ८ गते काठमाडौं सरुवा गरेपछि मोहनचन्द्रलाई सेन्ट्रल जेलमा र मलाई भद्रगोल जेलमा थुनिएको थियो । मंसिर ८ गते बेलुका म भद्रगोल जेल ल्याइएँ । त्यहाँको आन्तरिक चौकीछेउको कोठामा दुईजना कामदारको कडा पहराभित्र मलाई तोकिएको खाली भुइँमा राखियो । मलाई एउटा सुकुल दिने सम्बन्धमा बन्दीहरूका बीचमा चर्चा चल्यो ।
कामदारले ‘सुकुल दिन हुने भए सरकारले दिन्थ्यो, यस्ता मान्छेलाई सुकुल दिएर झमेला नउठाऊ’ भनेर बन्दीहरूलाई तर्साए । तैपनि ‘कपडा पनि छैन, खाली भुइँमा कसरी रात काट्ने रु जेसुकै होस् म त यो एउटा सुकुल दिन्छु’ भनेर एकजना बन्दीले मलाई एउटा सुकुल दिए । म को हुँ, कहाँबाट, किन, के मुद्दामा यसरी लुगाफाटोविना ल्याइएँ र दुईजना कामदारको कडा निगरानीमा कसैसँग बोलचाल गर्न नदिने गरी खटाइए भन्नेजस्ता जिज्ञासा बन्दीमा रहेको उनीहरूका आपसी कुराबाट बुझिन्थ्यो ।
उनीहरूले मसँग बोल्न नपाए पनि मैले आफ्ना बारेमा संक्षेपमा उनीहरूलाई बताइदिएँ । मेरो खुट्टामा नेल ठोकिएका थिए र हातमा हत्कडी लागेका थिए । शरीर चल्मलाउन र हातखुट्टा चलाउन निकै गाह्रो हुन्थ्यो । त्यसैवेला सेन्ट्रल जेलका बाबुकाजी वासुकलाहरूले मलाई भद्रगोलमा राखिएको र मसँग केही पनि नभएको थाहा पाएर एक–एकवटा ओढ्ने–ओछ्याउने, भित्री कपडा, रात्रि पहिरन, दाँत माँझ्ने ब्रस, मन्जन र लुगा धुने साबुन पठाइदिनुभएछ ।
मलाई त्यो दिइयो । त्यसपछि म सुकुलमाथि ओछ्यान लगाएर, नेल हत्कडी बजाउँदै भए पनि आरामले सिरक ओढेर बसेँ । मलाई खाना चौकीदारको भान्छाबाट पठाइयो । मैले ११ गते गोलघर पस्दा बोकेर ल्याएको कपडाको कुटुरो, बाबुकाजी वासुकलाहरूले दिनुभएको त्यही कपडाको कुटुरो थियो । त्यो दिन त्यसै बित्यो । साँझ पर्नुभन्दा पहिल्यै गोलघरका ढोका बन्द गरिने हुनाले हामीले साढे ४ बजेतिर खाना खायौँ । पक्राउ परेयता मंसिर ४ बाटै हामीले भात खान पाउन थालेका थियौँ । तर, मंसिर ११ गते साँझ बाबुकाजी वासुकलाको भान्छाको भात साह्रै स्वादिष्ट थियो । त्यसको स्वादले नै स्नेहसाथ तयार गरिएको भान्सा भन्ने बुझिन्थ्यो ।
लामो समयसम्म बेस्सरी कुटाइ खाएको र खाना खान नपाएकाले गर्दा हाम्रो भोक खुबै जागेको थियो । मैले मेरी टेलरले लेखेको ‘भारतीय कारागारहरूमा पाँच वर्ष’ नामक संस्मरण पढेको थिएँ । पुस्तकको पात्र ‘धतिंगना’ जस्तै अघाएको थाहै नपाउने पाएँ त्यतिखेर मैले आफूलाई । अर्को एउटा अनुभव हामीसँग थियो । प्रहरी हिरासतको लामो यातना पार गरेर जेल पुगेका जोसुकैले पनि अरूको भन्दा दोब्बर खान मन गर्छ र खान सक्छ ।
हामीलाई पनि त्यस्तै भयो । उहाँहरूले मीठो–मसिनो र स्वादिष्ट भोजन पठाउनुभयो, तर हामीलाई भने त्यसवेला मीठोको भन्दा मात्राको मतलब थियो । खाना आधा पेट भयो कि चौथाइ पेट भयो भन्न सकिँदैनथ्यो । तर, त्यहाँको वातावरण, दुर्गन्ध, एकान्तबास आदिले हाम्रो क्षुधालाई केही नियन्त्रण पनि गर्यो । तर, अब जिन्दगी त्यहीँ र त्यसरी नै बिताउनुपर्ने बोधले हामीलाई जीवन त्यति कठिन र बोझिलो लागेन । जे होस् नयाँ अनुभवको सुरुवातसाथ त्यो दिन बित्यो ।
रातभरि पागलहरूले कहिले सामूहिक त कहिले एकल, कहिले पालैपालो त कहिले एकैचोटि हल्ला गरेर झिमिक्क हुन दिएनन । त्यहाँ जिन्दगीभर सुनेजति शब्द र जानेजति विषयमा बोल्न बन्देज थिएन । मोहनचन्द्र र मबाहेक अरू कोही बन्देज बुझ्ने, सुुन्ने र थाहा पाउने स्थितिमा पनि थिएनन । भोलिपल्टबाट हामीले केही सुधारका काम थाल्यौँ ।
हामीसँग कागज–कलम थिएन । हामीले मौखिक रूपमा खुला चर्पी बन्द गर्नुपर्ने, सेफ्टी ट्यांकको बिर्को मिलाएर लगाउनुपर्ने, दिनमा दुईपटक बढार्नुपर्ने र फिनेल छर्किनुपर्ने, कुवाजस्तो थोत्रो खाल्डोलाई सफा र मर्मत गरेर पानी सञ्चित गर्नुपर्ने, त्यो नभएसम्मका लागि ड्रम राखेर सफाइका लागि पानी उपलब्ध गराउनुपर्ने, थुनुवाका कोठामा माटाका घैँटा वा सुराही राखेर पानी पिउन दिनुपर्ने आदि माग राख्यौँ ।
केहीबेरपछि चौकीदार ९जेलका नाइकेहरूको प्रमुख० आएर हामीसँग भेटेर हाम्रो कुरा सुने । तत्कालबाटै ती सुधारका कामको थालनी गर्नुपर्ने नत्र अनशन सुरु गर्ने कुरा हामीले बतायौँ । उनी फर्के । केहीबेरपछि ती काम प्रारम्भ भए । खुला चर्पी बन्द गरियो र त्यो ठाउँ सफा गरियो । सेफ्टी ट्यांकका ढक्कन मिलाएर बन्द गरिए । चुना र फिनेल छर्किइयो ।
हरेक कोठाका कुनाका खाल्टाहरूमा पानी हालेर सफा गरियो । एउटा ड्रम ल्याएर त्यसमा पानी भर्न सुरु गरियो । त्यस प्रयोजनका लागि एउटा स–सानो बाल्टी ल्याइयो र त्यसलाई कामदारको नियन्त्रणमा राख्ने गरियो । गोलघरको फोहोर र दुर्गन्ध अब नब्बे प्रतिशत घट्यो । केहीपछि कुनाको कुवालाई पनि सिमेन्ट लगाएर पानी राख्नयोग्य बनाइयो ।
गोलघरको उत्तर भागमा अर्को एउटा फलामे डन्डीहरूको ढोका छ । त्यो ढोकाभित्र एउटा अँध्यारो कोठा छ । त्यस कोठामा पुराना राणाकालीन फलामका साना–ठूला गोलाहरू, फलामका विभिन्न तौलका गलबन्दीहरू, उपयोगमा नगएका नेल र हत्कडीहरू, केही पुराना नेल ठोक्ने घनहरू र अरू केही काम नलाग्ने सामान थुपारिएका छन । कालकोठरी पस्ने ढोकैको छेउमा पूर्वपट्टि पिँजरा राखिएको छ, जहाँ पूर्णबहादुर कुमाल कोचिएका छन ।
सफाइबाट गोलघरको दुर्गन्ध घटाउन सकिए पनि बन्दीहरूमा भएको फोहोरीपन हटाउन भने सकिएन । पागलमध्ये कत्तिको सफाइ–चेतना नभएको मात्र होइन, भोजन र फोहोरमा भेद गर्न नसक्ने स्थितिले पनि गोलघरलाई दुर्गन्धित बनाइरहन्थ्यो । गोलघर र कालकोठरीका उपद्र्याहा मुसाहरूका गिरोहको बदमासीले गोलघरका हरेक कोठालाई फोहोर बनाउँथे ।
रात परेपछि गोलघरका मुसाहरूले मान्छेलाई पनि गन्दैनन । राति कपाल तान्नु, कान टोक्नु, खुट्टाका नङ, औँला टोक्नु, कपडा काट्नु र कोठैपिच्छेका पाइखानाका खाल्डा र नालीबाट फोहोर निकालेर सिरक, डसना र कोठाभरि छर्नु त्यहाँका मुसाका दैनिक उपद्रव हुन ।
हुन त त्यहाँका मुसाले दुःख मात्रै दिएनन, थुनिएकाहरूलाई मनोरञ्जन पनि दिए । त्यहाँ प्रायः मुसाको पूर्वलाइनको गिरोह र पश्चिम लाइनको गिरोहबीच ठूलो ग्याङ फाइट चल्थ्यो । लडाइँको कारण त थाहा पाउन सकिएन, तर उनीहरूको भिडन्त भने डरलाग्दो थियो । गोलघरका मुसा सप्रिएका, लामा र ठूला खालका छन ।
संख्या सयौँको छ । आपसमा टोकाइ र च्याँ–च्याँ चूँ–चूँको ठूलो हल्लाखल्ला साथ लडाइँ सुरु हुन्छ । साना ९छाउराहरू० लडाइँमा देखा पर्दैनन । अलिक ठूलाहरू गिरोहमा सामेल भएर, भाग्न अनुकूल ठाउँमा बसेर, कहिलेकाहीँ दौडेर अर्कोपट्टिकालाई टोकेर वा तर्साएर फर्किन्छन । छाउरा मुसाको बथानले हल्ला र दौडधुपबाट लडाइँलाई ऊर्जायुक्त बनाउँथे भने छिप्पिएकाहरू र खासगरी जवान लडाकुहरू अघि बढेर एकापसमा लड्थे । उनीहरूबीच टोकाटोक हुन्छ ।
मानिसले कुस्ती खेलेझैँ उभिएर पनि लडाइँ गर्छन् र कहिलेकाहीँ उभिएर अर्को पक्षको स्थितिको निगरानी पनि गर्छन । कहिलेकाहीँ लडाइँमा जवानहरू भिडिरहेका वेला एकातर्फबाट धुरिएर जाइलाग्दा अर्कोतर्फमा भागाभाग मच्चिन्छ । त्यस्तो वेलामा दोहोरो कोकोहोलो मच्चिएको हुन्छ । लडाइँ घन्टौँ चल्छ र अन्त्यमा एउटा बलियो मुसाले अर्कोलाई समातेर मारेपछि सब थर्कमान हुन्छन । त्यसपछि युद्ध अन्त्य हुन्छ । विजयी मुसाले अर्कोको मुटु कलेजो खान्छ र २–४ दिनलाई मुसायुद्ध समाप्त हुन्छ ।
पढ्न–लेख्न, मानिसहरू कसैसँग भेट्न र कुनै समाचार सुन्न प्रतिबन्ध लगाएका वेला गोलघरको एकान्तबासमा केही दिन बिराएर हुने यस्तो मुसायुद्ध मनोरञ्जनपूर्ण लाग्थ्यो । सारा प्रतिकूलताले गाँजेका वेला यस्तै अर्थहीन मुसायुद्धले उद्विग्न मनलाई अलमल्याउँथ्यो । जति घनघोर एकान्त हुन्थ्यो, मनभित्र उति नै ठूलो खल्बली हुन्थ्यो । मनभित्रको यस्तो खल्बली मुसाहरूको लडाइँमा गएर विश्राम लिन्थ्यो । हामी केही हलुका हुन्थ्यौँ ।
म पेटको अल्सरको बिरामी थिएँ । गोलघरमा परेको तीन–चार दिनपछिको कुरा हो । म जेलको क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगिएँ । त्यसका लागि निकै जोड गर्नुपरेको थियो । स्वास्थ्य परीक्षणपछि फर्किंदा जेलभित्रै मैले एउटा पेन्सिलको टुक्रा फेला पारेँ । पेन्सिल टिप्ने मानसिक पूर्वतयारी थिएन । जसरी कोठाभित्र पस्ने वेला मानसिक तयारीविनै खुट्टाले आफसेआफ एक–अर्का खुट्टाका जुत्ता खोल्छन, पेन्सिल देख्नासाथ मैले त्यसैगरी टिपेँ ।
कतै मेरो अन्तरचेतले सूक्ष्म रूपमा पेन्सिल वा त्यस्तै लेख्ने कुरा खोजिरहेको थियो । त्यो टिप्दा साथमा भएका गोलघरका कामदारले केही पनि भनेनन । मैले त्यो टुक्रो साथै लिएर आएँ । गोलघर पस्नेवेलामा ढोकाबाहिर केही पर गोल्ड फ्लेक चुरोटको एउटा खाली बट्टा फालिएको थियो । त्यसवेला जेलमा त्यो चुरोट प्रचलित थियो । मैले त्यो बट्टा उठाएँ ।
मेरो यो व्यवहारलाई वरिपरि हेर्ने बन्दीहरूले उदेक माने । कतिपयले त गोलघरबाट बाहिर आएको पागल होला, चुरोटको खाली बट्टा टिप्छ भन्ने पनि ठाने होलान । तर, मलाई कागजको न्यास्रो लागेको थियो । भित्र गएपछि सिमेन्टमा घोटेर त्यो पेन्सिलको टुप्पो केही धारिलो बनाएँ । गोल्ड फ्लेकको दश खिल्लीको बट्टाको त्यो सानो खोलमा मैले एउटा सानो कविता लेखेँ । त्यो सानो कविता मोहनचन्द्र र त्यहाँका कामदारलाई बोलाएर सुनाएँ ।
कामदारलाई मैले लेखेको कविता मन पर्यो । त्यसपछि कामदारले गोल्ड फ्लेकका खोल ल्याइदिने गर्यो । अनि मैले पनि कविता लेख्ने गरेँ । ऊ कविता मन पराउँथ्यो तर डरका कारण कागज र कलम दिने आँट गर्दैनथ्यो । पेन्सिल छउन्जेल भने गोल्ड फ्लेकका खोलहरू ल्याइदिने गर्यो ।
यसरी मेरो कविता लेख्ने क्रम पनि अघि बढ्यो । तर, चुरोटका खोल चाहिएजति पाउने अवस्था थिएन । मैले फारु गरेर, विचार फुरेका कुरामा, भन्नुपर्ने कुराहरू खाँदेर खोलमा अट्ने गरी विभिन्न प्रकारका कविता लेखेँ । प्रायः जेलका मान्छे छन्दबद्ध कविता मन पराउँछन । मैले पनि त्यसरी नै कतिपय कविता छन्दमा लेखेँ ।
तर, पछिपछि चुरोटका खोल अलिक प्राप्त गर्न सक्ने भएपछि भने गद्य कविता र अलिक लामा कविता पनि लेख्न थालेँ । म जेल नपर्दा पनि कविता लेख्थेँ । तर, जेलको लेखाइ अनेक हिसाबले विशेष महत्वको भयो । गोलघरमा भिन्न प्रकारका भोगाइ र अनुभूति थिए । श्रोता थिएनन् र भएका पनि कमै बुझ्ने स्तरका थिए । समय व्यतीत गर्न पनि सजिलो थिएन । लेख्ने कलम–कागजको प्राप्ति अनौठो थियो । यी सब कारणले त्यसवेलाको लेखन मेरा लागि अनौठो र महत्वपूर्ण अनुभूति थियो ।
हामीलाई लेख्न, पढ्न र कलम कागज राख्न अनुमति थिएन । तर, चुरोटको खोलमा पेन्सिलले लेख्तै–सुनाउँदै जाँदा मेरा कविता प्रचारित हुँदै गए । डेढ–दुई महिनापछि मैले कहिलेकाहीँ कामदारहरूबाट फुलस्केप कागज प्राप्त गर्न थालेँ र अर्को पेन्सिलको टुक्रो पनि पाएँ । कामदारले ल्याइदिएको कागजमा उसकै जीवनसँग सम्बन्धित, उसमाथि गरिएको ज्यादती र उसलाई परेको मर्काको सम्बन्धमा नै लयात्मक कविता लेखेँ । त्यसबापत उसले मलाई थप फुलस्केप कागज ल्याइदिने गर्यो । मेरा सुरुसुरुका कविता जेलका कामदारले नै लगे ।
गोलघर यसै पनि थप यातना दिइने ठाउँ भएकाले लेखपढको सुविधा दिइँदैन । त्यसमाथि आत्महत्याको डरले हतियारको रूपमा प्रयोग हुने सम्भावना भएका कुनै पनि सामान गोलघरमा बिल्कुलै राख्न दिइँदैन । कलम पनि त्यसभित्र पर्छ ।हामीले खासगरी राति र सामान्यतः दिउँसो पनि प्यासले अप्ठेरो पार्ने भएकाले पानी राख्ने केही सुराही वा घैँटो पाउन माग गर्दा पनि निकै दिनसम्म त्यसको खपटाले आत्महत्या निम्ति औजारको काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा विचार–विमर्श भएको थियो ।
अन्त्यमा पागलहरूबाहेक हामी दुई जनालाई घैँटो वा सुराही राख्न दिने तर आफैँले किन्नुपर्ने भनी राख्न अनुमति प्रदान भएको थियो । त्यो सुुराही किन्न हामीसँग पैसा थिएन । हामीले वामपन्थी राजबन्दीहरूसँग भनेर दुईवटा सुराहीको बन्दोबस्त गराएका थियौँ । कलम नदिनाको कारणमध्ये दुःख दिने नियत र आत्महत्याको औजार बन्न नसकोस् भन्ने दुवै हुने गर्छ । तर पनि मैले पेन्सिल पाउने गरेकाले लेख्ने काम भने अघि बढ्दै गयो ।
हामी गोलघर हालिनुपूर्व गोलघरमा थुनिएकाहरूलाई कुटपिट गरिँदो रहेछ । हामी त्यहाँ गएपछि पागलहरूलाई विभिन्न बहानामा पिट्ने चलनमा रोक लगायौँ । पागलहरू नचाहिँदो र गर्नै नहुने व्यवहार त गर्छन् नै । त्यसैकारण त उनीहरू पागल हुन । तर सद्देहरू पनि रिसाउने, आक्रोश र उत्तेजनामा आउने र पागलहरूलाई निर्मम यातना दिने काम उचित हुन सक्दैन ।
पागलहरू किसिम–किसिमका हुन्छन । तिनीहरूको विभिन्न पारा, तरिका र आफ्नै प्रकारको हिसाब–किताब पनि हुने गर्छ । पागलहरूकै साथमा बस्नु र समय बिताउनुपर्ने भएपछि उनीहरूको मनोविज्ञान बुझ्नु र तदनुरूपकै व्यवहार उनीहरूसँग गर्नु पनि आवश्यक पथ्र्यो । मैले पनि त्यसमा ध्यान दिएर उनीहरूसँग व्यवहार गरेँ ।
पागलहरू विभिन्न कारणले पागल भएका हुन्छन । ती कारण एवं पृष्ठभूमिअनुरूप नै आ–आफ्ना संकेत, सांकेतिक भाषा र अर्थहरू बनाउँछन । कसैले अर्कै कुरा गर्दा एउटा पागलले आफूलाई मार्छु भनेको, कुट्छु भनेको, आफूलाई दागा धरेको वा आफ्नो हितमा बोलेको केही पनि ठान्न सक्छ । पागलहरूमा प्रायः अरूको श्रेष्ठताप्रतिको चिढ हुन्छ । अर्धपागलहरू यस्तोमा मनोवैज्ञानिक आक्रमण पनि गर्छन ।
गोलघरका कठिन दिनमा लेखेका कविता घरिघरि झल्याकझुलुक स्मृतिमा आइरहन्छन । मेरा कविता उम्दा थिए कि थिएनन, म यसै भन्न सक्दिनँ । तर, कमजोर भने थिएनन्न। गोलघरमा बिताएका दिन सम्झिँदा म त्यसवेला पाएको यातना मात्र सम्झन्नँ, त्यहाँ लेखिएका मेरा प्रिय कविता पनि सम्झन्छु

पागलहरू अनेक तरंगका संसारमा हुन्छन् । पागल भएकाले उनीहरू मौका मिले खतरनाक पनि हुन सक्छन । मौका नमिले नराम्ररी मानसिक यातनाको सिलसिला पनि सुरु गर्न सक्छन । सद्देलाई पनि कहिलेकाहीँ लाग्छ, ‘म सद्दे नै त छु रु’ मोहनचन्द्रले यो सिलसिला थाम्न सक्नुभएन । केदारका र केदारजस्तैका कुराहरूले उहाँलाई पनि तरंगित गरायो । गोलघर परेको केही दिनभित्रै म झन् गम्भीर र त्रासदीपूर्ण स्थितिमा पुगेँ । ‘म पनि सद्दे नै रहन त सकुँला रु’ एउटा प्रश्न । ‘साथीलाई बर्बाद हुनबाट कसरी जोगाउने रु’ अर्को समस्या । जे होस, यी प्रश्नहरू ओहोरदोहोर गर्थे मनमा ।
न कसैलाई भेट्न पाइन्छ, न कुनै खबर वा चिठीपत्र पठाउनै पाइन्छ । जेलको मुख्य डाक्टर पेसाले डाक्टर भए पनि व्यवहार डाक्टरको जस्तो बिल्कुलै थिएन । जेलका प्रमुख डाक्टर अच्युतबहादुर श्रेष्ठ प्रहरी सर्जन थिए । उनमा उपकार भाव र मानवता थियो भने पनि अत्यन्तै न्यून थियो । हामी गोलघर परेको दुई–चार दिनमै एकजना युवा गोलघर ल्याइए ।
गिरफ्तार भएपछि प्रहरीले उनलाई यति निर्मम यातना दिएको थियो कि उनी हिँडडुल गर्न नसक्ने मात्र होइन, बोल्न र देख्न पनि नसक्ने बेहोस अवस्थामा थिए । उनको त्यही अवस्था लुकाउन पुलिसले जेलरसँग मिलेर उनलाई गोलघरमा राख्ने व्यवस्था मिलाएको थियो । एउटा पागललाई गोलघरबाट निकालेर त्यो बेहोस युवकलाई गोलघरमा हालियो ।
उसलाई गोलघरमा राख्नुपर्ने कारणमा पुलिसको बदमासी लुकाउनुबाहेक अर्को केही थिएन । तर, भोलिपल्ट त्यस युवकलाई डा। अच्युतबहादुर श्रेष्ठले परीक्षणका निम्ति झिकाए । उनले त्यस युवकलाई ‘ठग हो, थाहा नपाएझैँ गर्छ’ भनेर हातखुट्टामा लाइटरले पोले ।
अझ उनले ‘ठग आँखा नदेखेको भान पार्छ’ भन्दै उसका नझिम्किएका आँखाका सबै परेला डढाइदिए । त्यो युवक दुई–चार दिनमै त्यस्तै हालतमा मर्यो । त्यो युवक को हो भन्ने कुरा थाहा भएन । ती डाक्टर त्यस्ता थिए भने जेलर हरिप्रसाद घिमिरे लुब्ध, निर्दयी र निकृष्ट शोषक थिए । त्यस्तो शासनमा गोलघरजस्ता ठाउँमा स्वास्थ्य उपचार पाउनु र बाँचेर निस्कनु मेरा लागि सजिलो थिएन ।
त्यस्तै परिस्थितिका बीच आफ्नो संगतमा आएकाहरूको सहायता लिँदै मैले कागज र पेन्सिल हात पार्ने एवं कविता लेख्ने गर्दै गएँ । त्यसपछि मैले कम्तीमा ‘गोरखापत्र’ पढ्न पाउनुपर्ने र जेल–पुस्तकालयका पुस्तक पढ्न पाउनुपर्ने माग राखेँ ।
माग पूरा नभएपछि म आफ्नै प्रकारको आन्दोलन गर्ने निधोमा पुगेँ र उनीहरूलाई जानकारी दिएँ । त्यसपछि मलाई ‘गोरखापत्र’, जो जेलमा आउने गथ्र्यो, पढ्न पाउने व्यवस्था भयो । अरू कुरामा विचार हुँदै छ भन्ने खबर आयो । मेरो आन्दोलन रोकियो । आन्दोलन गरे पनि पुस्तकालयका पुस्तक पढ्न भने मिलेन ।
त्यसवेला मैले एउटा कापी र डटपेन भने प्राप्त गरेँ, सुटुक्क । ‘अखबार’ भन्ने एउटा गद्य कविता लेखेँ । त्यो कविता कसरी–कसरी पछिसम्मै सुरक्षित रहन सक्यो । मौका मिल्दा मैले थुपै्र कविता, कथा र निबन्ध बाहिर पठाएँ । त्यो कविता पनि त्यसमध्येकै थियो । पछि पार्टीले साहित्यिक पत्रिका ‘युगदूत’ प्रकाशन गर्दा मेरो त्यो कवितासहित केही कविता र अर्को अंकमा एउटा कथा पनि छापिएछ ।
‘युगदूत’ गोप्य रूपमा पछि जेलमा पुग्यो । आफ्ना थुप्रै रचना पटक–पटक लुटिएका र अन्य प्रकारले पनि सुरक्षित हुन नपाएकोमा दुःख लाग्यो । गोलघरमा ३–४ महिनामा अचानक छापामारी चल्थ्यो । उनीहरूले मेरा लिखतहरू सोहोरेर लान्थे । अनि कहिल्यै फिर्ता गर्दैनथे । जेलमा लेखेका अनेकौँ साहित्यिक रचनामध्ये केही ‘युगदूत’मा प्रकाशित भए । ‘युगदूत’मा प्रकाशित ती सबै कविता र कथा ९नामविना छापिएका० मैले गोलघरका ती कठोर दिनमा लेखेका हुँ ।
धेरैपटक धेरै रचना लुटिएकाले र नलुटिएकाहरू पनि जसले भेट्छ, उसले जिरा, मरिच वा भटमाससँग साटेर पसलमा मसला बेच्ने कागज बनाइदिएकाले पछिपछि त लेख्ने जाँगर पनि कम भयो । बाहिर आएका कविता पनि अलपत्र परे, हराए । बरु जेलमै हुँदा ‘सागर’ पत्रिकाले होला एउटा लेख छाप्यो । ‘झिसमिसे’ले र अरू केही साहित्यिक पत्रिकाले एक–दुईवटा निबन्ध र मैले जेलबाट बनाएर पठाएको शुभ–कामना कार्डको चित्रलाई आवरणमा राखेको थियो ।
गोलघरका कठिन दिनमा लेखेका कविता घरिघरि झल्याकझुलुक स्मृतिमा आइरहन्छन । मेरा कविता उम्दा थिए कि थिएनन, म यसै भन्न सक्दिनँ । तर, कमजोर भने थिएनन्न। गोलघरमा बिताएका दिन सम्झिँदा म त्यसवेला पाएको यातना मात्र सम्झन्नँ, त्यहाँ लेखिएका मेरा प्रिय कविता पनि सम्झन्छु ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top