अर्थ/बजार

शेयर शिक्षा सिकाउँदै लगानीकर्ताहरु

साउन १९, 2076    बुटवल पोस्ट

अमृत गिरी
बुटवल, साउन १८ । स्वरोजगारबाट होस् वा जागिरबाट आर्जित पुँजीलाई के प्रयोजनमा लगाउने र कसरी आम्दानी बढाउने भन्ने अलमलमा हुनुहुन्छ भने अब त्यस्तो उपाय सिकाउने अभियान सुरु भएको छ । 
पुँजी बजारको क्षेत्रमा मिलेर लगानी गर्ने र मिलेरै आम्दानी गर्ने अभियान सुरु गरेका लगानीकर्ताहरुले संस्थागत रुपमै यस्तो उपाय सिकाउन थालेका छन् । पुँजी बजार अर्थात् शेयर मार्केटका बारेमा चासो बढ्दै गइरहेका बेलामा यस क्षेत्रका युवा उद्यमीहरु तथा पुँजी बजार लगानी कर्ताहरुले लगानीकर्ता संघ नै गठन गरेर यस्तो अभियान सुरु गरेका हुन् । 
उनीहरुको यसखाले अभियानले पुँजी बजारमा चासो धेरैलाई सहयोग पुग्ने छ । अभियान अन्तर्गत शनिबार बुटवलमा आयोजित एक दिने अनुशिक्षणमा यस क्षेत्रका विभिन्न पेशा–व्यवसाय र उद्यममा सक्रियहरु सहभागी थिए । 
पुँजी बजारमा लामो समयदेखि लगानी मात्रै होइन् अध्यय्न गर्ने र अरुलाई पनि सिकाउँदै आएका लगानी कर्ताहरु मिलेर संघसमेत गठन गरेका छन् । सोही अन्तर्गतको संयुक्त कम्पनी सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षसमेत रहेका लगानीकर्ता कमल तिवारीले पछिल्ला केही वर्षमा आकर्षण बढ्दै गएको बताए । 
पुँजी बजारका विषयमा होटेल, रेष्टुरेन्ट सञ्चालन गरेका देखि चिकित्सा क्षेत्रमा सक्रिय चिकित्सकहरुसम्मले चासो देखाउन थालेको अभियानकर्ता तिवारीले जानकारी दिए । 
सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल प्रालि बुटवलका बालरोग विशेषज्ञ डा.विकास भण्डारी सहभागी भएका छन् । ‘मैले मेरो पेशाबाट आम्दानी गरेको रकम सुरक्षित शेयर बजारमा लगानी गर्न चाहन्छु’ उनले भने–जोखिम कम होस् र लगानीको उचित प्रतिफल पनि आओस् ।’ उनले शेयर बजारमा प्रवेश गर्नुपूर्व बुझेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता भएकाले अभिमुखीकरणमा सहभागि भएको उल्लेख गरे ।
अलमल र एकखालको अन्यौल अन्त्य भएको एक युवा व्यवसायी लिलाधर लुइँटेलले बताए । शेयर बजारको आधारभूत कुरा नसिकेसम्म प्रवेश गर्न नहुने भनेर सुनेकाले शेयर शिक्षाको कक्षामा सक्दै गरेको व्यवसायी लुइँटेलले बताए ।
बुटवलमा भएको एक दिने शेयर शिक्षा कक्षामा चिकित्सक बाहेक, प्राध्यापक, इन्जिनियर, गृहणी, युवा व्यवसायीलगायतका क्षेत्रबाट पुँजी बजारका वारेमा चासो राख्नेहरु सहभागी रहेको लगानीकर्ता संघ पाँच नम्बर प्रदेशका सह–संयोजक सूर्य पाण्डेले जानकारी दिए ।
कम्पनी र लगानी स्कुलले आयोजना गरेको यो आठौं कक्षा हो । हरेक महिनामा कक्षा सञ्चालन गर्नुपर्ने माग आएको यसखालका कक्षाको सुरुआत गरिएको अभियानकर्ताले बताएका छन् । अभिमुखीकरणमा नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, कैलाली, बर्दियालगायतका जिल्लाबाट ५१ जना सहभागी छन । 
सो अभिमुखिकरणमा शेयर बजारका जानकार सन्तोषराज बजगाइले सहजीकरण गरेका छन् । उनले बुटवल र यसक्षेत्रको उत्साह र सम्भावना अत्यधिक रहेको भन्दै लगानीका पनि प्रचूर सम्भावना रहेको बताए । रुपन्देहीमा मात्रै बुटवलमा पाँच र भैरहवामा एउटा गरी छ वटा ब्रोकर कार्यालय छन् । जहाँ दैनिक रु. एक करोड बराबरको कारोवार हुँदै आएको छ । 
शेयर लगानीकर्ता संघका केन्द्रीय सदस्य मुकुन्द भट्टराइले नेपालको पनि प्रदेश नं ५, ६ र ७ मा शेयर बजारको सम्भावना भएकाले यी प्रदेशमा शेयर शिक्षा अनिवार्य भइसकेको बताए । 
धेरैतिरबाट शेयर शिक्षाका बारेमा माग आइरहेकाले अब स्थानीय र प्रदेश सरकारसंगको सहकार्यमा आफुहरुले अभियान सञ्चालन गर्ने शोंच बनाएको प्रदेश नं ५ लगानीकर्ता फोरमका उपाध्यक्ष गोपीराज भुसालले बताए । उनले प्रदेशभरीका १२ जिल्लामा नै शेयर शिक्षा आवश्यक भएको उल्लेख गरे ।
सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष तिवारीले प्रदेश नं ५ मा भिन्दै ब्रोकर लाइसेन्स खुलाउन जरुरी रहेको भन्दै सम्बन्धित निकायमा यसको माग भइसकेको बताए । पुँजी बजारमा प्रवेश गर्नुअघि शेयर शिक्षा लिने वातावरण बनाउनका लागि पनि हरेक प्रदेशमा ब्रोकर लाइसेन्सको कार्यालय जरुरी रहेको यसक्षेत्रका लगानीकर्ताले खाँचो औंल्याएका छन् । 
पाँच नम्बर प्रदेश र यहाँका विभिन्न स्थानीय तहमा लगानी सम्मेलनको तयारी छ । लगानी सम्मेलनलाईसमेत सकारात्मक हुने गरि शेयर शिक्षा कक्षा प्रभावकारी हुने बताइएको छ । शेयर बजारको ज्ञानले अर्थतन्त्रलाई विकास गर्न टेवा पुग्ने लगानीकर्ताहरुको विश्वास छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top