स्वास्थ्य

सेवा बिस्तार गर्दै गौतम बुद्ध सामुदायीक मुटु अस्पताल

साउन १६, 2076    बुटवल पोस्ट

दाङ, श्रावण १६ । डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अव दाङ लगायतका क्षेत्रका मृगौलाका बिरामीहरुलाई अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी लमही मै डायलाइसिस सेवा सुरु गर्ने घोषणा गरेको बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउँको अभावमा सेवा सुरु गर्न सकेको थिएन । हाल त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो ।

डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा संम्झौता समेत भैसकेको छ । सम्झौता पत्रमा लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी., लमही नगर बिकास समितिका सदस्य सचिव गेहेन्द्र बहादुर डागी र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव दिनेशराज रेग्मीले हस्ताक्षर गरेका छन् ।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न सकिने छ । दाङका बिरामीहरुको समस्यालाई मध्येनजर गर्दै २०७६ आषाढ ३ गते बसेको लमही नगर बिकास समितिको बैठकले भवन उपलब्ध गराउने निर्णय गरेको लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी जानकारी गराए ।

दाङ लगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निःशुल्क उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै लमहीमा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको सहयोगमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने छ । मेसिनहरु खरिद भइसकेकोले केही समय भित्र लमहीको साथै स्याङजाको वालिङ र पाल्पाको तानसेनमा समेत सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष आलमले बताए ।
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top