बिचार

सन्दर्भ : ४१औं पुष्पलाल स्मृति दिवस

साउन ७, 2076    बाबुराम पन्थी

मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ, जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो ।

नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज साउन ७ गते देशव्यापी रूपमा मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता हुनुहुन्थ्यो, पुष्पलाल श्रेष्ठ । नेपाली कम्युनिष्ट आन्दोलनको पर्यायवाची नाम हो, पुष्पलाल श्रेष्ठ । नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती व्यवस्था समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता हुनुहुन्थ्यो, कम्रेड पुष्पलाल ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वसामु चिनाउने दक्षिण एशियाका क्रान्तिनायक हुनुहुन्थ्यो, पुष्पलाल श्रेष्ठ । रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रुपमा जन्मिनु भएका नेता पुष्पलालको आज ४१ औ स्मृति दिवसमा हामी सरिक भइरहेका छौं । पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा भएको थियो भने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा गराउँदै निधन भएको थियो । 
पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । नेपालबाट सामन्ती शोषण, अन्याय, अत्याचारलाई अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज स्थापना गर्न शोषित, पीडित वर्गको पक्षमा आवाज उठाउन पार्टीको आवश्यकता रहेको महसुस गरेर उहाँ माक्र्सवादी विचारबाट प्रेरित हुनुभयो र उहाँले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको आवश्यकता बोध गर्नुभयो । माक्र्सवाद लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । 
पुष्पलाल मुलुकमा शान्तिपूर्ण तवरले नै परिवर्तन गर्न सकिन्छ र संयुक्त आन्दोलनका माध्यमबाट निरंकुशतन्त्रको विरुद्ध उथलपुथल ल्याउन सकिन्छ भन्ने असल विचारक हुनुहुन्थ्यो । नेपालमा मूलतः शान्तिपूर्ण तवरबाटै युगान्तकारी परिवर्तन भएको छ, यस परिवर्तनको श्रेय पुष्पलाल नै हो । 

पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेपछि माक्र्सवादी विचारबाट समाजका लाखौँ मानिस प्रभावित एवं आकर्षित भए । सामन्तवादलाई समाप्त गरी पँुजीवादी क्रान्ति सम्पन्न गरेर समाजवादी बाटोमा अगाडि बढ्न प्रशिक्षित गर्नका लागि विभिन्न पुस्तकहरू प्रकाशन गर्नुभयो । उहाँका विचारबाट प्रभावित भएर नै लाखौं लाख नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् । मुलुकमा कम्युनिष्ट पार्टीको पक्षमा झण्डै दुई तिहाई जनमत सिर्जना भएको छ । वास्तवमा पुष्पलालले देखाएको बाटोबाट नै मुलुक यतिखेर न्याय र समतामूलक समाज स्थापनाका लागि अगाडि बढेको छ, यस सन्दर्भमा क. पुष्पलाल सामाजिक परिवर्तनका संवाहक एवं शिखर व्यक्तित्वको रूपमा स्थापित हुनुभएको छ ।

पुष्पलालले जनतालाई राज्यसत्ताको मालिक बनाउन जनता आफैंले आफ्ना प्रतिनिधि छानेर उनीहरू मार्फत देशको मूल कानून बनाउन संविधानसभाको आवश्यकतालाई विशेष जोड दिनुभएको थियो । फलस्वरुप जनताका प्रतिनिधिहरुले संविधानसभाबाट संविधान बनाउने कार्य सम्पन्न भएको छ र उहाँले देखाएको बाटोले सार्थकता पाइसकेको छ । 

पुष्पलाल धर्मलाई व्यक्तिगत विश्वासको विषयवस्तु मान्नुपर्दछ भन्ने पक्षमा दृढ हुनुहुन्थ्यो । व्यक्तिको कुनै धर्म मान्न वा नमान्न पाउने स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने भन्दै उहाँ धार्मिक स्वतन्त्रताको रक्षा गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो । धर्मको नाममा सामन्तवाद र साम्राज्यवादले गर्ने शोषणका विरुद्ध लड्नुपर्ने विचार राख्नुहुने पुष्पलालका विचारकै आधारमा राज्यले कुनै धर्मको पक्षपोषण गर्नहुन्न भनेर अहिले मुलुकलाई धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । 

पुष्पलाल जातीयता र क्षेत्रीयतावादी सोच चिन्तनको विरोधी हुनुहुन्थ्यो । उहाँ श्रेष्ठ थरको भए पनि उहाँले कहिल्यै आफ्नो नाम पछाडि ‘श्रेष्ठ’ लेख्नु भएन । पुष्पलाल नेपाली राजनीति र नेपाली समाजलाई दिशाबोध प्रदान गर्ने असल विचारक एवं समाजशास्त्री पनि हुनुहुन्थ्यो । राष्ट्रियता र जनवादलाई नयाँ ढंगले परिभाषित गर्नुभएको थियो । राष्ट्रियता भनेको लाखौं लाख झुपडीको एकता र तिनको हकहितको सुरक्षा जनवाद हो भनेर अत्यन्तै सरल ढंगले परिभाषित गर्नुभयो । 

पुष्पलाल संयुक्त जनआन्दोलनका प्रणेता हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि बहुदलीय व्यवस्थाको पुनःस्थापनाको लागि वाम एवं प्रजातान्त्रिक शक्तिबीचको संयुक्त मोर्चा बनाई निरङ्कुश एक दलीय पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त आन्दोलन गर्नुपर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो तर कम्युनिष्ट आन्दोलन नै विभाजित बनेको बखत वाम एकता नभई प्रजातान्त्रिक शक्तिसँगको एकता सम्भव थिएन । यसले गर्दा ३० वर्षसम्म निरङ्कुश पञ्चायतको राज कायम भयो । २०४६ सालमा पञ्चायत विरुद्ध वामपन्थी पार्टीहरूको वाममोर्चा र नेपाली काङ्ग्रेसबीच संयुक्त जनआन्दोलन सञ्चालन गर्न सहमति भएपछि संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय व्यवस्था पुनःस्थापना सम्भव भयो । यस्तै २०६२।०६३ मा निरङ्कुश राजतन्त्र विरोधी आन्दोलनमा पनि वाम एवं प्रजातान्त्रिक शक्तिबीचको सहकार्यबाट थालनी भएको संयुक्त जनआन्दोलनबाट मुलुकमा निरङ्कुश राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गर्न सम्भव भयो । यस सन्दर्भमा मुलुकमा युगान्तकारी परिवर्तन गर्न क. पुष्पलालको सोच, विचार, चिन्तन र दृष्टिकोण नेपालको राजनीतिक परिवर्तनमा सत्य साबित भएको छ । यसरी हेर्दा पुष्पलाल युगान्तकारी परिवर्तनको युग पुरुषको रूपमा नेपाली राजनीतिमा स्थापित हुनुभएको छ । पुष्पलालले देखाएको बाटोबाट नै मुलुकमा युगान्तकारी परिवर्तन भई गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्दै समाजवाद निर्माणको आधार तय गर्न मुलुक अगाडि बढिरहेको छ । यतिखेर पुष्पलालका विचार र उहाँले मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानका बारेमा व्याख्या विश्लेषण र अनुसन्धान गर्दै अगाडि बढ्नु आवश्यक छ । विद्यालय, विश्वविद्यालयका पाठ्य सामग्रीमा मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याउनु भएको योगदानका विषयलाई समावेश गर्नुपर्दछ र भावी पुस्तालाई पुष्पलालले देखाउनुभएको बाटोबाट अगाडि बढ्न प्रेरित गर्नुपर्दछ ।

नेपालका दुई ठुला दल नेकपा एमाले र माओबादीको एकता भएको छ । पुष्पलालले देख्नुभएको वामपन्थी एकताको सपना पुरा भएकै छ । अझै पनि नेपालमा केही साना कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न रुपमा रहेका छन् । तिनीहरुलाई पनि मुल धारमा ल्याएर देशमा एउटै र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । पुष्पलालले सङ्गठनात्मक जीवनको सन्दर्भमा ‘पार्टी नीति प्रधान हो, नेता प्रधान होइन’ भन्नुहुन्थ्यो । त्यसैले सैद्धान्तिक, वैचारिक र व्यावहारिक रूपमा एकमत कायम गरेर पुष्पलालले देख्नुभएको वामपन्थी एकताको सपना पूरा गर्नैपर्छ । तबमात्र हामीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१ औं स्मृति दिवस मनाउनुको सार्थकता रहला ।

नेपाली प्रजातन्त्र संघका संस्थापक हुँदै कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, गणतन्त्रका प्रथम उद्घोषक, भौतिकवादी चिन्तक, सादा जीवन र कठोर सङ्घर्षमा धैर्य र शाहसका साथ अघि बढ्ने, लोकतान्त्रिक आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका प्रवर्तक पुष्पलालको लोकतान्त्रिक र गणतान्त्रिक विचारप्रति सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । (लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीका अध्यक्ष हुनुहुन्छ) 


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top