प्रविधि

‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता

असार ३०, 2076    बुटवल पोस्ट

काठमाडौं, ३० असार । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवाप्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साइन रेसुंगा डेभलपमेन्ट बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीकातर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवाप्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेलले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ ।

यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने “हामीसाइन रेसुंगा डेभलपमेन्टबैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब साइन रेसुंगा बैंकका ग्राहकहरुले बैंकबाट नगदझिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।

यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमान्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top