बिचार

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्ष

जेठ ४, 2076    अमृत गिरी

लुम्बिनी भ्रमण वर्षकाे पुर्व संन्यामा  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश–५, सरकार बुटवल नेपालका माननीय मन्त्री लीला गिरी ज्यु संग लिईएकाे अन्तर्वाताकाे एक अंश

 
प्रश्न ः लुम्बिनी भ्रमण वर्ष के उद्देश्यका लागि आयोजना गरिएको हो ? विस्तृतमा बताईदिनुहोस् न ।
मन्त्री ः प्रदेश सरकार प्रदेश नम्बर ५ ले प्रदेशको समग्र विकास गरी ‘समृद्ध प्रदेश खुसी जनता’ को नारा प्रस्तुत गरेको व्यहोरा यहाँहरूलाई विदितैै छ । यो नारालाई मूर्त रुप दिन पर्यटन उद्योगलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने नीति प्रदेश सरकारले लिएको छ । यही नीति अनुरुप पर्यटनको विकास र प्रवद्र्धनका लागि वि.सं.२०७६ लाई लुम्विनी भ्रमण वर्षका रुपमा मनाउने निर्णय भएकोे हो । खासमा लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र पर्यटन विकास गर्ने गरि हामीहरु केन्द्रित भएका छौं ।
समृद्धिको एउटा बलियो आधारका रुपमा हामीले पर्यटनलाई लिएका छौं । प्रदेश नं. ५ पर्यटनको हिसावले अत्यन्तै सम्भावनायुक्त प्रदेश हो । प्रदेशका आकर्षक पर्यटकीय क्षेत्र मध्ये महामानव गौतमवुद्वको जन्मस्थल लुम्बिनी पनि एक होे । लुम्बिनी विश्व सम्पदा सूचिमा सूचिकृत पुरातात्विक स्थान हो । पवित्र चार बौद्ध गन्तब्य मध्ये सवैभन्दा महत्वपूर्ण गन्तब्य हुनुका कारण विश्वभरिका डेढ अर्व वौद्धमार्गीहरूको लागि लुम्बिनी आकर्षक तीर्थस्थल हो । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले पनि यो स्थान पर्यटकहरूका लागि उत्तिकै महत्वपूर्ण छ । जीवनमा एकपटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्व बुद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षकासाथ प्रदेश सरकारले लुम्बिनी भ्रमणवर्ष २०७६ मनाउन लागिरहेको छ । लुम्बिनी भ्रमणवर्षको सफल कार्यान्वयनबाट यस प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योगमा बिल्कुलै नयाँ अवसर र अवस्था सिर्जना हुने विश्वास प्रदेश सरकारको रहेको छ ।
प्रश्न ः लुम्बिनी संघीय सरकार मातहत छ, तर भ्रमण वर्ष प्रदेश सरकारले आयोजना गरेको छ, यस्ले गर्दा कार्यक्रम कार्यान्वयनमा समस्या त आउँदैन् ?
मन्त्री ः लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन स्थापना गर्ने कुरामा किन समस्या आउनु ? हानाथापको विषय र प्रतिस्पर्धाको कुरा होइन यो । बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने पवित्र उद्देश्य लिएर काम गरिरहेका छौं, यस्तो पवित्र उद्देश्यमा सबैले सहकार्य गर्ने हो । पर्यटनलाई समृद्धिको आधारका रुपमा लिएका छौं । यो आधारलाई साकार पार्ने क्रममा तीनै तहका सरकारले सहकार्य र समन्वय गर्न जरुरी छ । पर्यटन प्रवद्र्धन जस्तो विषयमा समस्या आउने गरि भन्दा पनि समस्याहरुको समाधान गर्नेगरि प्रदेश सरकार केन्द्रित भएको छ । हामीले लुम्बिनीको विकासका लागि संघीय सरकारको समन्वयमा यहाँका स्थानीय तहलाईसमेत समेटेर काम गरिरहेका छौं । त्यतिमात्र होइन यहाँका निजी क्षेत्र, सामाजिक संघ संस्थाहरु, नागरिक अगुवा र सञ्चारकर्मीहरु सबैसंग प्रदेश सरकारले सहकार्य गरिरहेको छ र गर्ने छ । भ्रमण वर्षको कार्यक्रमलाई कार्यान्वयन गर्ने कुरामा पनि तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी, सामाजिक संघ संस्था र जनसमुदाय सबैका बीचमा अझ प्रभावकारी सहकार्य हुने छ ।
प्रश्न ः भ्रमण वर्षमा के कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ ? स्वदेशमा मात्रै हो वा विदेशमा पनि केही कार्यक्रम हुन्छन् ? कार्यक्रमहरुका बारेमा संक्षिप्त जानकारी गराइदिनुस् न ।
मन्त्री ः लुम्बिनी भ्रमणवर्षको सीमा लुम्बिनी क्षेत्रमात्र होइन । सिद्धार्थ गौतम बुद्ध भन्दा अगाडि जन्मिएका क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलबस्तुको गोटीहवा र अरौराकोटमा जन्मेका हुन् । त्यसो हुनाले लुम्विनी क्षेत्र बुद्ध जन्मस्थल मात्र होइन बौद्ध दर्शन र शान्तिको पवित्र उद्गमस्थल समेत हो । वौद्ध संस्कृति र सभ्यताको हिसावले कपिलवस्तु खुला संग्राहालय नै हो । त्यसबाहेक बुद्धको मावली देवदह, कोलीय सभ्यताको केन्द्र रामग्राम, सैनामैनालगायतका बुद्ध परिपथसँग सम्बन्धित दर्जनौं ऐतिहासिक पुरातात्विक स्थलहरू पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । लुम्विनीलाई ग्रेटर लुम्विनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई वौद्धमार्गीहरूको आकर्षक गन्तब्यस्थल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यही विश्वासका कारण ०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षको रुपमा घोषणा गरेको हो । यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म भ्रमण वर्षको रुपमा मनाउन व्यापक प्रचारप्रसार गर्ने, आन्तरिक तथा विदेशी पर्यटकहरूलाई आकर्षण गर्ने, यसको विकासका लागि भौतिक संरचना निर्माणदेखि प्रदेशका अन्य आकर्षक पर्यटकीय स्थानसँग जोडेर लैजाने र नेपालीहरूमा पनि भ्रमण सँस्कृतिको विकास गर्नेजस्ता महत्वपूर्ण कार्यहरू यस अवधिमा गरिने छन् ।  
बुद्धको जन्मस्थल, बुद्धको बाल्यकाल वितेको स्थल, बुद्धले २९ वर्षसम्म विताएको स्थल, बुद्ध संग सम्बन्धित यहाँका सबै क्षेत्रहरुलाई देशका सबै पर्यटकीय, धार्मिक र सांस्कृति केन्द्रहरुसंग जोडेर एकीकृत पर्यटन स्थापना गर्ने उद्देश्यले प्रदेश सरकार केन्द्रित भएको छ । यत्ति मात्रै होइन, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ती कम्बोडियामा, भियतनाममा विश्व समुदायलाई लुम्बिनी भ्रमणको निम्तो दिइसक्नु भएको छ । हामीहरु पनि यहाँका सातै प्रदेशमा पुगेर निम्तो गरेका छौं, बुद्धध्वनीसहितको रोड सो सुरु भएको छ । यी कार्यक्रमहरुलाई बुद्धले ज्ञान प्राप्त गरेको, महापरिनिर्वाण भएको स्थानसम्मै पुगेर बुद्ध जन्मस्थल लुम्बिनीमा एकपटक पाइला टेक्नुस् भनेर निम्तो गर्ने छौं । प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेबी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरू, स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्थालगायतका कार्यक्रमहरु तय भएका छन् । यसका साथै सम्माननीय प्रधानमन्त्रीले संघदान र भिक्षादान गर्ने, वृक्षारोपण गर्नेलगायतका विशिष्ट कार्यक्रमहरु राखिएका छन् । यी सबै कार्यक्रमहरुमा प्रदेश सरकार, विकास कोष, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुको सहकार्यमा सम्पन्न हुने छन् ।
 
प्रश्नः भ्रमण वर्षका कतिपय कार्यक्रम हचुवाको भरमा तय गरियो भन्ने गुनासो पनि छ नि ? जस्तो प्रसुु्ती मार्ग घोषणा गरियो तर, पछि कार्यक्रम तालिकाबाट हटाइयो ।
मन्त्री ः बुद्ध जन्मस्थल लुम्बिनी जाऔं ः शान्तिको सन्देश फैलाऔं’ भन्ने जस्तो पवित्र उद्देश्य राखिएको कार्यक्रम हो यो । मायादेबी प्रसुती उत्सव कार्यक्रम गरिन्छ । यो कार्यक्रम लुम्बिनीबाट रथयात्रासहित सुरु भएर तिलौराकोटमा मुल कार्यक्रम गरिने छ । यो मायादेवीले लुम्बिनीमा बुद्धलाई जन्म दिएपछि त्यसको खुशीयालीमा तत्कालिन शाक्य र कोलीय राज्यले उत्सव मनाएको स्मृतिमा त्यसैको झल्को दिनेगरि जेठ ५ गते प्रसुती उत्सव मनाउने तय भइसकेको छ ।
गुनासा गर्न, आलोचना गर्न सकिन्छ । जायज गुनासा र सकारात्मक आलोचनाहरुलाई सम्मान गर्दै कमी कमजोरीहरु भएका भए त्यसलाई सुधार गरेर अझ प्रभावकारी पनि बनाउन सकिन्छ नि । लुम्बिनी सबैको हो, सबै मिलेर नै यहाँको प्रबद्र्धन गर्ने हो ।
प्रश्नः लुम्विनी भ्रमण वर्षको बजेट के कति हो र के–के कार्यक्रममा खर्च हुँदैछ ?
मन्त्री ः लुम्बिनी भ्रमण वर्षको एक वर्षे कार्यक्रमका लागि कुल चार करोड १९ लाख ६० हजार बजेट विनियोजन भएको हो । यहीँ परिधि भित्र रहेर भ्रमण वर्षको लोगो निर्माणदेखि व्यवस्थापका कैयौं कार्यक्रमहरु भएका र भइरहेका छन् । यस्का साथै बुद्ध सर्किटसँग सम्बन्धित ब्रोसर प्रकाशन, बुद्ध सर्किट सूचना तथा होर्डिङ्ग बोर्ड तयारी तथा जडान, सडक प्रदर्शनी जस्ता कार्यक्रमहरुमार्फत लुम्बिनीमा पर्यटक भित्राउन व्यापक प्रचार–प्रसार आवश्यक छ त्यसैले नै प्रचार–प्रसारका कामलाई व्यवस्थित ढंगले अगाडि बढाउने काम भइरहेको छ । लुम्बिनीमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कामको तयारी भएको छ । यो सहित मूल समिति, कार्यकारी समिति र विभिन्न उपसमिति गठन र तिनका नियमित वैठक, बुद्ध दर्शन र शान्ति विषयक निबन्ध प्रतियोगिता, पर्यटक गाइड र स्वयम् सेवक तालिमलगायतका कार्यक्रमहरु भइरहेका र हुने छन् । प्रदेश सरकारको २०७५ जेठ २५ गते सार्वजनिक भएको नीति तथा कार्यक्रम र बजेटमा यो घोषणा गरिएको हो ।
प्रश्नः उद्घाटन समारोहलगायत अन्य कतिपय शीर्षकहरुमा छुट्टाइएको ठूलो बजेट हेर्दा फजुल खर्च र अनुत्पादक हुने भनेर आलोचना र टिकाटिप्पणी हुन थालेका छन् । यसबारेमा प्रष्ट पारिदिनुस् न ।
 
मन्त्री ः जायज र अत्यावश्यक विषयमै बजेट खर्च भएको छ र हुने छ । हामीले हरेकमा कार्यविधि र प्रष्ट मापदण्ड बनाएका छौं । हाम्रो सार्वजनिक खरिद ऐनले पनि मनपरी गर्ने छुट कसैलाई दिएको छैन । नबुझेर पनि टिकाटिप्पणी भएको हुन सक्छ । सम्माननीय राष्ट्रपति, सम्मााननीय प्रधानमन्त्री, सम्माननीय उपप्रधानमन्त्री, माननीय मन्त्रीहरु, माननीय मुख्यमन्त्री, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका माननीय सदस्यहरुलाई लुम्बिनीमा निम्ता गरेर यत्ति भव्य कार्यक्रम गर्न गइरहेका छौं जुन सामान्य विषय होइन नि ।
 
प्रश्न ः लुम्बिनी भ्रमण वर्ष मनाउने सन्दर्भमा लुम्बिनीका स्थानीय जनप्रतिनिधि, संघ र प्रदेशसभाका सदस्यहरुसंग छलफल नगरिएको र बेवास्ता गरिएको गुनासो पनि आएको छ । स्थानीयलाई कसरी सहभागिता गराउँदै हुनुहुन्छ ?
 
मन्त्री ः मैले सुरुमै भन्न चाहन्छु, सबैसंग समन्वय र सहकार्य भएको छ, भइरहेको छ र हुने छ । कुनै पनि पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थापनाका लागि त्यहाँका स्थानीय समुदायले अपनत्व गर्नैपर्छ । लुम्बिनीमा पनि त्यहाँका स्थानीयले अपनत्व गर्नेगरि पर्यटन स्थापना गर्नुपर्छ भनेर हामीहरु लागेका छौं । हामीले सबैसंग समन्वय र सहकार्य गरिरहेका छौं । यहाँका सबैले यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर प्रभावकारी बनाउनुपर्छ । प्रदेश सभाका (प्रदेश–५) सबै माननीय सदस्यहरु (सांसद) भ्रमण वर्षको मूल समितिमा हुनुहुन्छ । बैठकसमेत बसेको छ । साथै स्थानीय जनप्रतिनिधिहरु पनि विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरुसंगको सहकार्यमा कार्यक्रमहरु अगाडि बढेका छन् र बढाइने छन् ।
 
प्रश्न ः लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा बुद्धसंग सम्बन्धित क्षेत्र (साइट) र बुद्ध सर्किटबारे प्रदेश सरकारको योजना, कार्यक्रम के छ ?
मन्त्री ः बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, नवलपरासी र रुपन्देहीसहित देशका बुद्धसंग सम्बन्धित क्षेत्रहरु सबैको विकास गर्नुपर्ने छ । लुम्बिनीमा आउने पर्यटकलाई यहाँ यी साइटहरुसम्म लैजाने, घुमाउने, चिनाउने र त्यसमार्फत आय आर्जन बढाउने खालका कार्यक्रमहरु गर्नुपर्ने छ । प्रदेश ५ मा पर्यटन विकासका जुन प्रचुर सम्भावनाहरु छन् तिनलाई साकार पार्नुपर्ने छ ।
 
प्रश्न ः लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा बुद्धसंग सम्बन्धित क्षेत्र (साइट) र बुद्ध सर्किटबारे प्रदेश सरकारको योजना, कार्यक्रम के छ ?
 
मन्त्री ः नेपाल सरकारबाट सन् २०२० लाइ भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने । पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने । लुम्बिनी, तिलौराकोट, गोटीहवा, सगरहवा, कुदान, अरौराकोट, निग्लिहवा, सिसहनीया, जगदीशपुर ताल, रामग्राम, देवदह र सैनामैनालाई जोडेर बनेको बुद्ध सर्किटमा बुद्धका पहिचान झल्किने गतितिविधिहरु ग्रिने छ ।
यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने । लुम्विनी आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउने । लुम्विनी क्षेत्रलाई सिद्धार्थ,कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने । लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने जस्ता कार्यक्रमहरु छन् । बुद्ध आफैले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया (ज्ञानप्राप्त भूमि), सारनाथ (पहिलोपटक शिष्यलाई ज्ञान दिनुभएको भूमि) र कुशीनगर (परमधाम गमन) को भ्रमण गर्नुपर्ने बताउनु भएको कुरा सबैले स्मरण गर्नुपर्ने छ ।
 
प्रश्न ः विश्व सम्पदा सूचिमा रहेको लुम्बिनी नजिकका उद्योगहरुका कारण प्रदूषणको चपेटामा परेको छ । यसबारे प्रदेश सरकारले के सोचेको छ ?
 
मन्त्री ः कतिपय विषयहरु प्रदेश मातहतमा ल्याउने, समन्वय गर्ने र नियमन गर्नेतर्फ हामी केन्द्रित भएका छौं । प्रदूषण हटाउने मात्रै होइन, उद्योगहरुको स्थानान्तरण गर्नेसम्मका विषयमा योजना बनाउँदै छौं । पहिलेका कतिपय नीतिगत अस्पष्टता र अलमलहरु हटाउँदै संघीयता कार्यान्वयन हुने गरि संवैधानिक सीमामा रहेर कानूनहरु बनाउने काम भएको छ । कतिपय काननूहरु बनिरहेका र बन्ने क्रममा पनि छन् ।
 
प्रश्न ः लुम्बिनी गुरुयोजना अझै पनि पूरा हुन सकेको छैन, किन ढिलाई भएको हो, यसबारे प्रदेश सरकारको धारणा के हो ?
 
मन्त्री ः जापानी प्रोफेसर केञ्जो टाँगेले सन् १९७८ मा लुम्बिनीको गुरुयोजना बनाउनुभएको थियो । उहाँले आफ्नो जीवनकालमा यो गुरुयोजना पूरा होस् भन्ने चाहना पनि राख्नुभएको हो । तर, अहिले झण्डै चार दशकसम्म पनि पूरा हुन नसक्नु विडम्बनाको कुरा हो । लुम्बिनीलाई विश्व शान्ति सहरका रुपमा विकास गर्ने, ग्रेटेर लुम्बिनी बनाउने जस्ता कैयन महत्वपूर्ण विषयहरु पनि जोडिएर आएका छन् । अहिले करिब करिब ८२ प्रतिशत जति पूरा भएको छ । लुम्बिनीमा पाँच हजार जना अट्ने सभाहल, टेलिकम्युनिकेशन, पानी ट्यांकी, ढल निकास र नदी (तेलार नदी) डाइभर्सन जस्ता ठूला कामहरु बाँकी रहेका छन् । हिंजो जे–जे कारणले ढिलाई भयो–भयो अब ढिलाई हुने, अलमल हुने कुरै छैन ।
 
प्रश्न ः हामी लुम्बिनी आउने पर्यटकको संख्या गनेर रमाइरहेका छौं, तर पर्यटकको बसाई लम्ब्याउन सकिरहेका छैनौं र अपेक्षाकृत लाभ लिन सकेका छैनौं । पर्यटकको बसाई लम्ब्याउन प्रदेश सरकारको के योजना वा कसरी पर्यटकको बसाई लम्ब्याउन सकिन्छ ?
मन्त्रीः राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार–प्रसार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने, लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई अवधिमा वृद्धि हुने, लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा ब्यापार ब्यवसायमा बृद्धि हुने, होटेल, ट्राभल एजेन्सी, यातायातलगायतका पर्यटन ब्यवसायको प्रबद्र्धन हुने, रोजगारीको सिर्जना हुने र प्रदेश सरकार र लुम्बिनी विकास कोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने छ । जहाँसम्म यहाँ पर्यटकको बसाई लम्ब्याउने विषय छ यस्का लागि हामीले टूर इभेन्टको प्रवद्र्धनको विशेष कार्यक्रम ल्याएका छौं । यजअन्तगर्त ‘फूलमून डे’ को दिन रातैभरी त्यहाँ जागा बसेर प्रार्थना गर्ने, मायादेवी प्रसुती उत्सव, सुजता खीर उत्सव जस्ता कार्यक्रमहरु राखिएका छन्  यी कार्यक्रमहरु अहिले घोषणा गरि सुरु गरिएको छ तर, हरेक वर्ष विस्तार हुने र बुद्धसंग सम्बन्धित क्षेत्रहरुमासमेत पु¥याउने योजना छ । यसो गर्दा यहाँका सांस्कृतिक झाँकीहरु, रहनसहन र संस्कृतिलाई उजागार गर्दै पर्यटन प्रवद्र्धनमा केन्द्रित गर्ने लक्ष्य लिएका छौं । यी कार्यक्रमहरुमार्फत पर्यटकको बसाई स्वतः लम्बिने नै छ । लुम्बिनी जोडिने सडकहरु विस्तार भइरहेका छन र हुने क्रममा छन् । भैरहवास्थित गौतमबुद्ध विमानस्थल विस्तार भइसकेपछि र यहाँका सडकहरु चौडा भएपछि पर्यटकहरुलाई सहज हुने छ । यस्का साथै हामीहरुले टुरिष्ट गाइड उत्पादन गर्नेदेखि होम स्टे सञ्चालन सम्मका कामहरुलाई पनि प्राथमिकतामा राखेका छौं । यो काम पूरा भएपछि पर्यटकहरुको आकर्षण बढ्ने र बसाई पनि लम्बिने अपेक्षा गरेका छौं । ​
प्रश्न ः अन्तिममा थप केही ?​
मन्त्री ः सर्वप्रथम लुम्बिनी भ्रमण वर्षका लागि सबैलाई निम्तो गर्न चाहन्छु । भ्रमण वर्षको कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको र पर्यटनक्षेत्र जीवनका प्रत्येक पक्षसँग सम्बन्धित भएकाले यो कार्यक्रमको सफल कार्यान्वयनका लागि सबैक्षेत्रको सहयोग अपेक्षित छ । विशेष गरी यस कार्यक्रमलाई मानिसको मन–मनका, घर–घरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सञ्चारकर्मीहरूको अहम् भूमिका रहेको हुन्छ । त्यसैले यसको सफल कार्यान्वयनमा सञ्चारक्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण छ । पर्यटनको सोझो सम्बन्ध आर्थिक क्रियाकलापसँग रहेको छ । आर्थिक क्रियाकलापको सम्बन्ध समाजको समूल विकास र समृद्धिसँग जोडिएको छ । प्रदेशले लिएको ‘समृद्ध प्रदेश खुसी जनता’ को लक्ष्यप्राप्तिको दिशामा लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम कोशेढुङ्गाको रुपमा स्थापित हुन सक्ने सम्भावना रहेकोले यसको सफल कार्यान्वयनका लागि सञ्चारकर्मीहरू मार्फत समाजका सबैपक्षहरूसँग हार्दिक अपील गर्दछु ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top