राजनीति

रहेनन् अब यी ‘कांग्रेसका गढ’

असार १८, २०७४    .

१८ असार । स्थानीय तहको दोस्रोे चरणको निर्वाचनमा कतिपय स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुङ्गा नगरपालिका कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । ०४९ र ०५४ सालमा स्थानीय निर्वाचन जितेको मात्र होइन, अहिलेसम्म संसदीय निर्वाचनमा समेत रेसुंगा क्षेत्रबाट कांग्रेसले अत्यधिक मत पाउँदै आएको थियो । तर, यसपटक सो नगरपालिकामा कांग्रेसलाई पराजित गरी एमालेले सानदार रुपमा जित हासिल गरेको छ । एमालेका डिल्लीराम भुसालले कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई १ सय ४७ मतान्तरले पराजित गरेका छन् । भुसालले ६ हजार ३ सय ८८ मत ल्याएका थिए । उपप्रमुखमा पनि एमालेकै सीता भण्डारीले कांग्रेसकी अमृता कुँवरलाई ७ मतले पराजित गरेकी छन् ।

रमाइलो त के छ भने रेसुङ्गा नगरपालिकाको मेयर पदमा विजयी बनेका भुसाल र पराजित श्रेष्ठ २० वर्षअघि पनि प्रतिस्पर्धी थिए । तत्कालीन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागि ०५४ सालमा श्रेष्ठले भुसाललाई हराएका थिए । रेसुङ्गामा जितेपछि एमालेले शनिबार विशाल विजयसभा आयोजना गरेको छ । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ गएका थिए । एमालेका जिल्ला नेताहरुले समेत यो नगरपालिकालाई आफूहरुले जित्ने कोटामा राखेका थिएनन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठामाथि पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले धावा बोलेको छ । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको एउटा मात्र नगरपालिका अमरगढीमा एमालेले जित हासिल गरेपछि कांग्रेसभित्रै देउवाको व्यापक आलोचना भइरहेको छ ।

०४८ सालको आम निर्वाचनदेखि कांग्रेसको वर्चश्व रहेको जिल्लाको पकड भत्किन नदिन प्रधानमन्त्री देउवाले सक्दो प्रयत्न गरेका थिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेरै भए पनि उनी डडेलधुरामा पाँच दिन बसेका थिए । तर, देउवाको केही लागेन । यो नगरपालिकामा एमालेका विपिन ओझाले कांग्रेसका डिल्लीराज जोशीलाई १ सय २८ मतले पछि पार्दै जित हासिल गरे भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भए ।

कांग्रेस र कांग्रेसका नेताको प्रतिष्ठासँग जोडिएर पनि कांग्रेसले हार व्यहोर्नु परेको अर्को स्थानीय तह हो– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका । कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीको घर भएको यो गाउँपालिका पनि दशकौंदेखिको कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । उक्त गाउँपालिका अध्यक्षमा एमालेका डुफकुमार बाँस्तोलाले कांग्रेसका उम्मेद्वारलाई ४२ मतले पराजित गरे । बाँस्तोलाले १ हजार ६ सय ९८ मत ल्याए भने कांग्रेसका उम्मेदवार धनराज राईले १ हजार ६ सय ५६ मत ल्याएका थिए ।

त्यसो त सोलुखुम्बु जिल्ला नै कांग्रेसको गढका रुपमा चिनिन्छ । ०६४ को संविधानसभा निर्वाचन बाहेक ०४८ पछिका सबै संसदीय निर्वाचनमा यहाँ कांग्रेसका नेता केसीले जित्दै आएको यो जिल्लामा यसपटक नौ स्थानीय तहमध्ये एमालेले चार वटा गाउँपालिकामा जित हासिल ग¥यो भने एउटा नगरपालिका दुधकुण्डमा उपप्रमुख जित्यो ।

००७ सालदेखिको कांग्रेसको गढका रुपमा चिनिएको ओखलढुंगाको एउटामात्र नगरपालिकामा पनि यसपटक एमालेले जित हासिल गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमालेका मोहनकुमार श्रेष्ठले कांग्रेस उम्मेदवार डिल्लीराज खनाललाई १ सय २६ मत अन्तरले पराजित गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री रमेश लेखकको वडामा एमाले उम्मेदवार विजयी भएका छन् । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नं. ८ मा एमाले उम्मेदवार दुर्गासिंह भण्डारीले विजयी हासिल गरेका छन् । उनले काँग्रेसका प्रत्यासीभन्दा ८८ बढी मत ल्याएर चुनाव जितेका हुन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top